मुम्बइ एअरपोर्टले शुरु गर्‍‍यो ‘कन्ट्याक्टलेस चेक-इन’को व्यवस्था, क्यूआर कोडबाट लगेज व्यवस्थापन

  • Technology Khabar | २६ भाद्र २०७७, शुक्रबार
मुम्बइ एअरपोर्टले शुरु गर्‍‍यो ‘कन्ट्याक्टलेस चेक-इन’को व्यवस्था, क्यूआर कोडबाट लगेज व्यवस्थापन

काठमाडौं ।

भारतको मुम्बइ एअरपोर्टले सम्पर्करहित चेक इनको व्यवस्था मिलाएको छ।

यसका माध्यमबाट यात्रुहरुले क्यूआर कोड स्क्यान गरी परबाट नै चेक इन तथा लगेज व्यवस्थापन गर्ने उपकरण (कियोस्क) चलाउन सक्नेछन्।

उक्त उपकरणलाई परबाट चलाएर बोर्डिङ पास तथा ब्यागमा लगाउने ट्याग प्रिन्ट गरेर लिन सक्नेछन्।

मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलले एक विज्ञप्ति निकालेर यसका लागि यात्रुले कियोस्कमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने र त्यो पछि कियोस्कलाई नछोई परबाट नै कियोस्कको कीबोर्ड र माउस फोनबाट चलाएर चेक इनको प्रक्रियामा जान सकिने जनाएको छ।

ग्लोबल एअरलाइन्स आईटी सलुसन्स (सिता)ले व्यवस्थापन गरेको उक्त सम्पर्करहित प्रविधिले यात्रुलाई कियोस्कबाट टाढा राख्ने र यो नागरिक उड्डयन मन्त्रालयको यात्रु उडान निर्देशिका अनुरुप रहेको विज्ञप्तिमा उल्लेख छ।

‘कोरोना महामारीबीच यात्रुका परिवर्तनशील आवश्यकता र सहजताका लागि यो सम्पर्करहित प्रविधि प्रयोगमा ल्याइएको हो’ मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य कार्यकारी निर्देशक राजिव जैनले भने, ‘हामी सबै यात्रुहरुले सजिलै प्रयोग गर्न सक्ने नयाँ प्रविधि अवलम्बन गर्दै यात्रुको अनुभव बढाउन चाहन्छौँ।’

उनका अनुसार विमानस्थलले कोरोना महामारीभन्दा अघि पनि यात्रुहरुलाई सुविधासम्पन्न विमानस्थल यात्राको अनुभव प्रदान गर्न नयाँ नयाँ प्रविधियुक्त यस्ता थुप्रै उपायहरु अवलम्बन गरेको थियो।

तीमध्ये सहजै प्रयोग गर्न सकिने चेक इन कियोस्क, सेल्फ ब्यागेज ड्रप काउन्टर तथा सुरक्षा जाँचका लागि बोर्डिङ पास जाँच गर्ने ई-गेट आदि रहेका थिए।

‘कोरोना महामारीबीच हामी हाम्रा ग्राहकलाई सहज यात्रा अनुभव दिलाउन सजिलो बनाउन विभिन्न प्राविधिक सहयोग प्रदान गर्नमा केन्द्रित छौ र मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलमा यो सेवा दिन पाएकोमा खुशी छौ,’ सिताका भारतीय उपमहाद्वीप, दुबई र पूर्वी र दक्षिणी अफ्रिका हेर्ने उप प्रमुख मनीष जयकृष्णले भने ।

कम्पनीले यो प्रविधिललाई अन्य विमानस्थलहरुमा पनि विस्तार गर्ने जनाएको छ । एजेन्सीका साथ

 

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार