इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको नेतृत्वमा पूर्वाधार कम्पनी ल्याउने अन्तिम तयारी

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

काठमाडौं ।

अनुज राज

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मिलेर नयाँ पूर्वाधार कम्पनी ल्याउने तयारी गरिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार पूर्वाधारको लागि इन्फ्रास्ट्रक्चर(पूर्वाधार) कम्पनीको लागि नियम जारी गरेसँगै नेपालमा पूर्वाधार कम्पनीको तयारी गरिएको थियो । तर अझैसम्म पूर्वाधार कम्पनी आउने अवस्था देखिएको छैन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)का अध्यक्षले भने पूर्वाधार कम्पनी ल्याउने बारेमा कुरा भईरहेको जानकारी दिए ।

उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन) नेपालले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा आइस्पानअन्तरगतका कम्पनीहरु मिलेर पूर्वाधार कम्पनी ल्याउने तयारी भएको खुलासा गरेका हुन् ।

यसअघि पनि पटक पटक इन्टरनेट सेवा प्रदायकहरु (आईएसपी) बिच पूर्वाधार कम्पनीको बारेमा कुराकानी भएपनि त्यस बारेमा काम भने अगाडि बढ्न सकेको थिएन् ।

विशेषगरि आइस्पानका सदस्यहरुमात्रै मिलेर पूर्वाधार कम्पनी खडा गर्ने बारेमा बृहतरुपमा २ पटक छलफल भईसकेको स्रोतले जानकारी दिएको छ । तर सो बारेमा अझै ठोस निर्णय हुन सकेको थिएन् ।

यसअघि गत फागुनमा नै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षको नेतृत्वमा आइस्पानका सदस्यहरुबिच प्राधिकरणमा नै पहिलो चरणको छलफल भएको थियो । जसमा आइस्पानका सदस्यहरुको लगानीमा पूर्वाधार कम्पनी ल्याउने निर्णय गरिएको थियो ।

‘तर त्यसपछिको छलफलमा कुन कम्पनीले कति शेयर लिने भन्ने बारेमा सहमत हुन नसक्दा पूर्वाधार कम्पनी तुहिएको थियो,’ सो छलफलको बारेमा जानकार स्रोतले टेक्नोलोजीखबरसँग भन्यो ।

स्रोतकाअनुसार विशेषगरि नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको सेवा प्रदायक वर्ल्डलिंकलाई कति प्रतिशत शेयर हिस्सा दिने भन्ने बारेमा सहमत हुन नसक्दा र आइस्पान भन्दा बाहिरका कम्पनीहरुलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा सहमत हुन सकेको थिएन।

सो प्रारम्भिक छलफलमा विशेषगरि वर्ल्डलिंकका प्रतिनिधि, भायनेट, सुबिसु र क्लासिक टेकका प्रतिनिधिहरु सहभागी भएर छलफल गरेका थिए ।

त्यसपछि सोहि विषयमा आइस्पानभित्र पनि निकै छलफल भएपनि अन्त्यमा वर्ल्डलिंकलाई दिने शेयर हिस्सामा नै सहमति हुन सकेको थिएन् ।

छलफलमा सहभागी कम्पनीमध्येका एक कम्पनीका प्रतिनिधिले सो विषयमा आइस्पानका सदस्यहरुबिच नै तिब्र प्रतिस्पर्धाको अवस्था र खुट्टा तानातानको अवस्था भएको हुँदा पूर्वाधारमा सहमति नभएको बताए ।

‘एउटै कम्पनीलाई मात्र धेरै शेयर दिने की नदिने भन्ने विषयमा विवाद भयो र पूर्वाधार कम्पनीको बारेको छलफल त्यसै रोकियो,’ स्रोतले दाबी गर्यो ।

ठूला आइएसपीमध्येको एक कम्पनीका प्रतिनिधिले भने सबैलाई मिलाएर लानुपर्ने हुँदा एउटै कम्पनीलाई ठूलो शेयर दिन नहुने केहि समयअघि बताएका थिए ।

‘पूर्वाधार भनेको ठूलो कम्पनी हो यसमा सबैको स्वामित्व र अपनत्व गराउनुपर्दछ, एउटैलाई मात्र धेरै शेयर दिनुहुँदैन्,’ उनले भनेका थिए ।

पहिलो छलफलपछि देशभर लकडाउन भएसँगै सो विषय प्राथमिकतामा परेन र आधारभूत पूर्वाधार व्यवस्थापनमा नै सबैको ध्यान गएको थियो ।

तर फेरी पूर्वाधार कम्पनी गठन गर्ने बारेमा पुन आइस्पानहरुबिच नयाँ ढंगबाट छलफल गर्न शुरु भएको स्रोतले जानकारी दिएको छ ।

‘भदौको पहिलो सातामा भएको छलफलमा आइस्पानका सबै सदस्यहरुबिच छलफल भएको र सो मिटिङ्गमा दूरसञ्चार प्राधिकरणका अध्यक्षसमेत सहभागी रहेको स्रोतको दाबी छ ।

सो बैठकमा जसरी पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सहभागीतामा नै पूर्वाधार कम्पनी ल्याईनुपर्ने बारेमा विशेष जोड दिईएको थियो ।

‘यदि स्थानिय आइएसपीहरु मिलेर पूर्वाधार कम्पनी नल्याएको खण्डमा भविश्यमा विदेशी कम्पनी आउनसक्ने तर्फ सबैलाई सचेत गराईएको र पुन नयाँ ढंगले शेयरमा संरचनामा सहमति भएको छ,’ स्रोतले दाबी गर्यो ।

आइस्पानका अध्यक्ष भट्टले पूर्वाधार कम्पनी ल्याउने सहमति भएको पुष्टी गर्दै अब मिलेर नयाँ संरचनामा पूर्वाधार कम्पनी ल्याउने कार्य भईरहेको र त्यसमा धेरै सहमति भईसकेको बताए ।

‘पूर्वाधार ल्याउन त्यति सजिलो छैन तर अब अन्तिम चरणमा सबैको सहमति भईसकेको छ र काम अगाडि बढेको छ,’ अध्यक्ष भट्टले टेक्नोलोजीखबरसँग भने ।

उनले प्राधिकरणको साथ र सहयोगमा नै पूर्वाधार कम्पनी ल्याउन काम भएको भन्दै त्यसमा लगभग सबैजनाको शेयर संरचना बारेमा पनि सहमत भएको बताए ।

‘हामीलाई प्राधिकरण र अध्यक्ष ज्यूको समेत सहयोग र समर्थन भएको हुँदा छिटोभन्दा छिटो पूर्वाधार कम्पनी ल्याउने योजनामा छौं,’ भट्टले भने ।

उनकाअनुसार केहि समयपछि नै पूर्वाधार कम्पनी ल्याउने योजना छ।

पूर्वाधार कम्पनीले अहिलेको इन्टरनेट पूर्वाधार र तार व्यवस्थापनलगायतको सम्पूर्ण कार्य गर्नेछ भने संचालनमा रहेका सबै इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा उपलब्ध गराउने उनको भनाई छ ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया