
काठमाडौं ।
भारत अमेरिका लगायत ठूला देशमा समस्या भोगिरहेको चिनियाँ शर्ट भिडियो शेयरिङ्ग एप्लिकेशन टिकटकको विकल्पमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नै छोटो भिडियो राख्न मिल्ने एप्लिकेशन बनाउने भएको छ।
एप्लिकेशनका बारेमा धेरै जानकारी बाहिर नआए पनि विश्वको पाँचौ ठूलो स्मार्टफोन कम्पनी ओप्पोले यो वर्षको अन्त्यसम्म यो एप्लिकेशन सार्वजनिक गर्ने बुझिएको छ। यो जानकारी कम्पनीका एक उच्च अधिकारीले साउथ चाइना मर्निङ पोस्टलाई दिएका हुन्।
‘हामी यो वर्षको उत्तरार्द्धमा भिडियो शेयरिङ एप्लिकेशन सार्वजनिक गर्ने तयारीमा छौँ,’ ओपोका एशिया प्रशान्त क्षेत्र प्रमुख जिम्मी यीको अन्तर्वार्ता उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
‘हाम्रा सेवाहरु प्रयोग गर्न इन्टरनेट चाहिन्छ र विश्वमा अहिले ५जी नेटवर्कको विस्तार हुँदै गइरहेको छ।’ उनले भने ।
ओपोले यो सफलता पाएमा विश्वमै स्मार्टफोनमा भिडियो शेयरिङ एप्लिकेशन राख्ने पहिलो स्मार्टफोन कम्पनी बन्नेछ।
यसो भएको खण्डमा यो अलि अनौठो सुनिनेछ किनकि एण्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीमध्ये अहिलेसम्म शाओमीले मात्र सेवा सम्बन्धी रणनीतिलाई गम्भीरतापूर्वक लिएको छ।
टिकटकले अमेरिकामा ट्रम्प प्रशासनको समस्या भोगिरहेको र केही समयभित्र अमेरिकामा भएका कारोबार बेच्नू भन्ने निर्देशन पाएका बेला ओपोले आफ्नो भिडियो शेयरिङ एप्लिकेशनको योजना सार्वजनिक गरेको हो।
गएको जुन महिनामा भारतमा टिकटक लगायत ५८ ओटा तथा केही दिनअघि पब्जीलगायत १ सय १८ ओटा चिनियाँ एप्लिकेशनमा भारतले प्रतिबन्ध लगाएको थियो।
ओपोले आफ्ना करोडौं स्मार्टफोन उपभोक्तालाई आफ्ना सेवा प्रयोग गर्न उत्साहित गरे पनि विश्वका कराडौँ मानिसहरुको मन जित्न सफल टिकटक जस्तो एप्लिकेशनको ठाउँमा आफ्नो त्यस्तै नयाँ एप्लिकेशन चलाउनु सोचेजस्तो सजिलो नहुने विश्लेषकहरुको भनाई छ। एजेन्सी
प्रकाशित: २२ भाद्र २०७७, सोमबार