
काठमाडौं ।
सरकारले देशभरका स्थानीय तहहरुमार्फत नागरिकहरुका लागि एउटै प्लेटफर्मबाट सेवा दिनसकिने गरि एउटै टेम्प्लेटमा मोबाइल एप्लीकेशन ल्याएको छ।
७५३ स्थानीय तहले प्रयोग गर्नेगरि सूचना प्रविधि विभागले एउटा टेम्पलेटमा निर्माण गरिएको मोबाइल एप्लीकेशन सार्वजनिक गरेको छ।
हालसम्म यो एप ४३३ तहले प्रयोगमा ल्याएको विभागले जानकारी दिएको छ।
गत आवसम्म संचालमा र प्रयोगमा रहेका एपहरुलाई सुधार र सुरक्षित गर्दै अपग्रेड गरेर नयाँ मोबाइल एप्लिकेसन ल्याएको जानकारी दिएको छ ।
यो एप्लीकेशन प्रयोग गरेर नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपुर्ण स्थानहरु आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सुचना तथा जानकारी सजिलै प्राप्त गर्नुका साथै यस एपबाट हाल फैलिएको कोभिड१९ महामारीका सूचना समेत पाउने छन्।
यसका साथै नागरिकहरुले स्थानीय तहबाट प्रदान गरिने सेवाहरु बापतको भुक्तानी एपबाट नै विद्युतीय माध्यममार्फत गर्न सक्ने सुबिधा रहेको छ।
विभागले तयार पारेको सो एउटै एपबाट सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने सो मोबाइल एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले गूगल प्लेस्टोरबाट र आइओएस प्रयोगकर्ताहरुले एपस्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
यसको लागि स्थानीय तहको एप (Local Level) नामबाट खोजी गरी प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।
यसका साथै यसअघि संचालनमा रहेका छुट्टाछुट्टै स्थानिय एपहरु अब उपलब्ध नहुने जानकारी दिएको छ ।
प्रकाशित: २१ भाद्र २०७७, आईतवार