सरकारले ३ अर्ब ८७ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत उठायो, कुन सेवा प्रदायकले कति तिरे हेर्नुस्

  • Technology Khabar | २१ भाद्र २०७७, आईतवार
सरकारले ३ अर्ब ८७ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत उठायो, कुन सेवा प्रदायकले कति तिरे हेर्नुस्
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

गत आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरुले फ्रिक्वेन्सी प्रयोग गरेबापत सरकारलाई ३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

फ्रिक्वेन्सी प्रयोग गरे बापत वार्षिकरुपमा सरकारलाई तिर्नुपर्ने रकममध्ये गत आवमा दूरसञ्चार सेवा प्रदायकहरुले तिरेको फ्रिक्वेन्सी दस्तुर रकम अघिल्लो आव २०७५/७६ को तुलनामा १ अर्ब ५७ करोड भन्दा बढि रकम हो ।

अघिल्लो आव २०७५/७६ मा २ अर्ब ३० करोड १३ लाख ३८ हजार रुपैयाँ सेवा प्रदायकहरुले फ्रिक्वेन्सी दस्तुर भुक्तानी गरेका थिए ।

आव २०७५/७६ आधारमा हेर्दा आव २०७६/७७ मा सेवा प्रदायकहरुले फ्रिक्वेन्सी प्रयोग गरे बापत १ अर्ब ५७ करोड ४९ लाख ६ हजार ८०३.७५ रुपैयाँ थप दस्तुर बुझाएका छन् ।

आव २०७६/७७मा फ्रिक्वेन्सी दस्तुरको रकम बढ्नुमा नेपाल टेलिकम र एनसेलले अतिरिक्त फ्रिक्वेन्सीको अनुमति पाउनु कारण रहेको छ । जसअन्तरगत नेपाल टेलिकमले ८०० मेगाहर्ज ब्याण्डमा ४जी चलाउन पाएको थप फ्रिक्वेन्सी रहेको छ । यसअघि ८५० मेगाहर्ज ब्याण्डमा कम्पनीले सिडिएमए मात्र चलाउँदै आएको थियो तर सिडिएमए फेज आउट गर्ने तयारीसँगै कम्पनीले ८०० मेगाहर्जमा ४जी चलाउनका लागि फ्रिक्वेन्सी पाएको थियो ।

त्यसैगरि अर्को मोबाइल अपरेटर एनसेल आजीयाटाले गत आवमा नै १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सनमार्फत थप फ्रिक्वेन्सी पाएको थियो । जसमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ प्रति मेगाहर्जको लागि रकम कबोल गरेको थियो भने कम्पनीले ९ मेगाहर्ज फ्रिक्वेन्सी लगेको थियो ।

फ्रिक्वेन्सी दस्तुर बुझाउने कम्पनीहरुमध्ये सबैभन्दा धेरै हिस्सा सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी सेवा प्रदायक एनसेल आजीयाटा प्रालिको रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा फ्रिक्वेन्सी दस्तुर बुझाउने कम्पनीहरुमध्ये नेपाल टेलिकम सबैभन्दा अगाडि रहेको छ । कम्पनीले १ अर्ब ७२ करोड ४९ लाख ९ हजार १६३.६६ रुपैयाँ दस्तुर बुझाएको छ भने त्यसपछि निजी मोबाइल अपरेटर एनसेल आजीयाटा रहेको छ।

गएको आर्थिक वर्षमा एनसेलले १ अर्ब ५९ करोड ९१ लाख ३१ हजार ६०० रुपैयाँ सरकारलाई फ्रिक्वेन्सी प्रयोग गरे बापतको दस्तुर तिरेको छ ।

त्यसैगरि मोबाइल अपरेटर स्मार्ट टेलिकमले गत आवमा २५ करोड ७४ लाख ४९ हजार ४५६ रुपैयाँ भुक्तान गरेको छ । स्मार्ट टेलिकमले आफूले सरकारलाई तिर्नुपर्ने रकम किस्ताबन्दीको रुपमा तिर्दै आएको छ ।

त्यसैगरि नेपाल स्याटेलाइट टेलिकम प्रालिले भने गत आवमा २१ करोड ५१लाख ३३ हजार ९९१.६० रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत रकम तिरेको छ भने अर्को कम्पनी सिजि कम्युनिकेशन्स प्रालिले सरकारलाई गत आवमा ७ करोड ९१ लाख २६ हजार ३५.२० रुपैयाँ तिरेको छ ।

यूनाइटेड टेलिकम प्रालिले भने गत आवमा फ्रिक्वेन्सी दस्तुरको न्यून शुल्क मात्र तिरेको छ । तथ्यांकअनुसार कम्पनीले २ हजार ८२६.८४ रुपैयाँ मात्र तिरेको छ ।

मोबाइल अपरेटरहरुबाहेक फ्रिक्वेन्सी दस्तुर तिर्ने अन्य कम्पनीहरुमा भीस्याट प्रयोगकर्ता कम्पनीहरु रहेका छन् ।

यी हुन फ्रिक्वेन्सी दस्तुर धेरै तिर्ने प्रमुख कम्पनीहरु

सेवा प्रदायकहरुआव २०७६।७७ मा तिरेको रकम (रु)
नेपाल दूरसञ्चार कम्पनी लि१ अर्ब ७२ करोड ४९ लाख ९ हजार १६३.६६ रुपैयाँ
एनसेल आजीयाटा प्रालि१ अर्ब ५९ करोड ९१ लाख ३१ हजार ६०० रुपैयाँ
स्मार्ट टेलिकम२ २५ करोड ७४ लाख ४९ हजार ४५६ रुपैयाँ
नेपाल स्याटेलाइट टेलिकम प्रालि२१ करोड ५१लाख ३३ हजार ९९१.६०
सिजि कम्युनिकेशन्स प्रालि७ करोड ९१ लाख २६ हजार ३५.२० रुपैयाँ
यूनाइटेड टेलिकम प्रालि२ हजार ८२६.८४ रुपैयाँ

प्रकाशित: २१ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार