अनलाइन र टेकअवे सेवा बिहिबारदेखि खुला, होम डेलिभरी भने मापदण्ड बनेपछि मात्रै

  • Technology Khabar | १७ भाद्र २०७७, बुधबार
अनलाइन र टेकअवे सेवा बिहिबारदेखि खुला, होम डेलिभरी भने मापदण्ड बनेपछि मात्रै

काठमाडौं ।

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको भए पनि अनलाइन सेवालाई भने अनुमति दिईएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते राती १२ बजेसम्म लागु हुनेगरी थप एकहप्ता निषेधाज्ञा थप गरेको छ।

यो पटक‍को निषेधाज्ञालाई अघिल्लो हप्ताको भन्दा केहि खुकुलो बनाइएको छ। यस पटकको निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यबस्तु, दुध, दुध जन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री गर्ने पसल खोल्न पाइने छ भने औषधि र पानीको पसल दिनभरी नै खोल्न सकिने छ।

यसका साथै टेक अवे र अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी सेवा खुला समेत गरिएको छ । तर प्रशासनले होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने उल्लेख गरेको छ ।

होम डेलिभरी गर्दा भेटेका व्यक्तिको अभिलेख समेत राख्नुपर्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।

त्यसको लागि जिल्ला प्रशासन कार्यालयले डेलिभरी सेवाको मापदण्ड छिटै जारी गर्ने जनाइएको छ। मापदण्ड जारी भएपछि मात्र होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने छ ।

यसअघि गएको भदौ ११ गते प्रहरीले पूर्व सूचना बिना नै फुडमाण्डु, मेट्रो तरकारी, इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, भोजडिल, फुडमारियो, काठमाडौ अर्ग्यानिक, सस्तो डिललगायतका कम्पनीका संचालक एवम् डेलिभरी कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो।

नेपाल इकमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले भने तोकिएको मापदण्ड पालना गर्ने र सुरक्षित हुनेगरि होम डेलिभरीलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजे सम्म निर्बाध संचालन गर्न दिनुपर्ने आग्रह गरेको थियो भने उनीहरुले भदौ १६ देखि नै सेवा दिने बताएका थिए ।

Notice

प्रकाशित: १७ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार