वीच्याटलाई प्रतिबन्ध लगाए एप्पलका उत्पादनहरु बहिष्कार गर्ने चीनको चेतावनी

Technology Khabar १३ भाद्र २०७७, शनिबार

काठमाडौं ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’ लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने शुक्रबार चेतावनी दिएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल विच्याट र भिडियो शेयरिङ्ग एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी दिएर समय तोकेपछि चीनको सो भनाइ आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका थिए । राष्ट्रपति ट्रम्पले यी एपले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वाशिङ्गटनबीच थप तनाव बढेको देखिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार ट्वीटरमा लेखेका छन्, “यदि विच्याटलाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले आईफोन र एप्पलका उत्पादनहरू प्रयोग गर्नुपर्ने कुनै कारण हुनेछैन ।”

यसअघि बिहीबार झाओले भने, “धेरै चिनियाँहरूले अमेरिकामा ‘विच्याट’लाई प्रतिबन्ध गरिएमा चीनमा ‘आईफोन’ प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।” चिनियाँ एपलाई लक्षित गरी अमेरिकाले गैर–अमेरिकी कम्पनीहरूलाई व्यवस्थितरूपमा आर्थिक आक्रमण गरिरहेको उनले दावी गरे ।

बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो ।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

यसअघि नै भारतमा पनि टिकटक प्रतिबन्धित छ भने टिकटकलाई किन्नका लागि विभिन्न अमेरिकी लगानीकर्ता र कम्पनीहरु छलफलमा रहेका छन् । एजेन्सी

प्रकाशित: १३ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया