
काठमाडौं ।
सरकारले ईकमर्श व्यवसायलाई व्यवस्थित र नियमन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ ।
यसको लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिएको छ ।
नेपालमा बढ्दोक्रममा रहेको ईकमर्श व्यवसायलाई हाल स्पष्टरुपमा नियमन गर्ने कानून छैन् ।
मंगलबारको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो ऐन बनाउने बारेमा जानकारी दिए ।
विद्युतीय माध्यमद्धारा सञ्चालन गरिने ई-विजनेस सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले सुनाए।
सरकारले सैद्धान्तिक स्वीकृति दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ईकमर्श सम्बन्धि विधेयकको मस्यौदा तयार पारी पेश गर्नेछ ।
ईकमर्श सम्बन्धि कानूनी विषयमा यसअघि नै मन्त्रालय अन्तरगतको बाणिज्य विभागले सरोकारबालाहरुसँग एक चरणक छलफल र सुझाब संकलन गरिसकेको छ ।
त्यसबारे प्रारम्भिक खाका तयार पारेर छलफलमा रहेकोमा अब भने पूर्णरुपमा मन्त्रालयले मस्यौदा तयार पारेर पेश गर्नेछ ।
हाल नेपालमा १ दर्जन भन्दा बढि इकमर्श कम्पनीहरु रहेपनि कानूनको अभावमा अव्यवस्थितरुपमा संचालन हुँदै आएका छन् ।
प्रकाशित: ११ भाद्र २०७७, बिहीबार