Technology Khabar २६ श्रावण २०७७, सोमबार
काठमाडौं ।
इन्टरनेटको सेवा र गुणस्तरबारेमा नियामक निकायमा परेका उजुरी तथा गुनासो मध्ये आधा जसो वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको विरुद्धमा मात्रै परेको छ।
विदेशी लगानी भएको वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवाको बारेमा सेवाग्राहीहरुले सबैभन्दा धेरै उजुरी तथा गुनासो गरेको गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांकमा देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार सो आर्थिक वर्षमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये सबैभन्दा धेरै उजुरी सेवाग्राहीले वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको विरुद्धमा गरेका हुन् ।
प्राधिकरणकाअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको विरुद्धमा परेको कुल उजुरी तथा गुनासो मध्ये वर्ल्डलिंक कम्युनिकेशन्सको विरुद्धमा आएका उजुरीहरु मात्रै ४५ प्रतिशत भन्दा बढि छ ।
यसको अर्थ कम्पनीले ग्राहकहरुलाई भने अनुसारको सेवा र गुणस्तर नदिएको देखिन्छ।
प्राधिकरणको तथ्यांकअनुसार गत आवमा इन्टरनेट सेवा प्रदायकहरुको विरुद्धमा कुल ३३ वटा उजुरी तथा गुनासोहरु लिखितरुपमा दर्ता भएका थिए । जसमा पत्र मार्फत वा इमेलमार्फत उजुरीहरु आएका थिए भने ती उजुरी तथा गुनासोहरु प्राधिकरणले फछ्र्यौट गरेको थियो ।
वर्ल्डलिंकको विरुद्धमा परेका उजुरीहरुमध्ये सबैभन्दा धेरै खराब नेटवर्कको विरुद्धमा रहेको छ भने अर्को भने अनुसारको ब्याण्डविथ सेवाग्राहीलाई नदिएको उजुरीमा छ । त्यसैगरि इन्टरनेट निकै सुस्त भएको र बेला/बेलामा इन्टरनेट नै काटिने गरेको उजुरीहरु समेत परेका छन् ।
दूरसञ्चार प्राधिकरणमा उजुरी परेको मध्ये १५ वटा वर्ल्डलिंकको मात्रै रहेको छ । अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको भने निकै कम मात्र रहेको देखिन्छ ।
प्राधिकरणकाअनुसार भायनेट कम्युनिकेशन प्रालिको ६ वटा क्लासिक टेक प्रालिको ५ वटा, सुबिसु केबल नेट प्रालिको ४ वटा र पोखरा इन्टरनेट प्रालि, स्काई केबल टिभी प्रालि र म्याक्स नेट सलुसन्स प्रालिको विरुद्धमा १/१ वटा मात्र उजुरी परेका छन् ।
नेपालमा इन्टरनेट सेवाको क्षेत्रमा विदेशी लगानी भित्र्याएको वर्ल्डलिंकले भनेअनुसारको सेवा र गुणस्तर नदिँदा सो कम्पनीको विरुद्धमा उजुरी अधिक परेको तथ्यांकमा देखिन्छ। वर्ल्डलिंकले बेलायतको सिडिसी ग्रुपबाट सिडिसी नेपालमार्फत कम्पनीमा लगानी भित्र्याएको छ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले औपचारिकरुपमा आएका उजुरी र गुनासोहरु मात्र तथ्यांकमा राखिएको जानकारी दिए।
‘हामीकहाँ पत्र वा ईमेलमार्फत आएका औपचारिक उजुरीहरु दर्ता गरेर तथ्यांक राखिन्छ। अनौपचारिक उजुरी र गुनासोहरुको बारेमा जानकारी हुँदैन्,’ प्रवक्ता अर्यालले भने।
आगामी दिनमा यसलाई थप सुधार गरेर उजुरीको विषय कम्पनीहरुले समाधान गरे वा गरेनन् भनेर जानकारी लिईने उनले बताए ।
वर्ल्डलिंकको सेवा बारेमा अनौपचारिक र सामाजिक सञ्जालहरुमा अझ धेरै उजुरी र गुनासोहरु हुने गरेको देखिन्छ ।
प्राधिकरणमा परेको उजुरी र गुनासाेको निवेदनहरुमा केहि समयअघि एक इन्टरनेट सेवा प्रदायकको इन्टरनेट सेवा अर्को कम्पनीको आदेशमा काटिदिएको बारेमा पनि रहेको छ।
जसमा बिराटनगरस्थित फस्टलिंक कम्युनिकेशन्स प्रालिले आफूले रकम अग्रिम तिरेर सेवा लिएपनि वर्ल्डलिंकले इन्टरनेट काटिदिएको र आफ्ना सेवाग्राहीहरु समस्यामा परेको गुनासो प्राधिकरणमा दर्ता गरेको थियो।
हेर्नुस् सो समाचार-
जब नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण नै वर्ल्डलिंकलाई कारबाही गर्नबाट डरायो
प्रकाशित: २६ श्रावण २०७७, सोमबार