नेपाल टेलिकममा रणनीतिक साझेदारको आवश्यकता बारे आन्तरिक अध्ययन कमिटी

  • Technology Khabar | १७ श्रावण २०७७, शनिबार
नेपाल टेलिकममा रणनीतिक साझेदारको आवश्यकता बारे आन्तरिक अध्ययन कमिटी

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रणनीतिक साझेदार भित्र्याउने बारेमा पुन छलफलहरु शुरु भएका छन् । त्यसको लागि कम्पनीले समेत आन्तरिक कमिटी गठन गरेको छ ।

रणनीतिक साझेदारको आवश्यकता भए नभएको बारेमा आन्तरिक र सरकारी गृहकार्य भईरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिमा जानकारी दिएका थिए ।

सांसदहरुले सरकारी कम्पनीले नै राम्रो सेवा सुबिधा नदिएको बारेमा आक्रोस पोख्दै यसलाई निजीकरण गर्नुपर्ने हो की भन्ने प्रश्न उठाएका थिए ।

सो बारेमा समितिमा जानकारी दिने क्रममा प्रबन्ध निर्देशक अधिकारीले रणनीतिक साझेदारको बारेमा अध्ययन भईरहेको जानकारी दिएका थिए ।

उनले सो बारेमा अर्थ मन्त्रालयको निजीकरण एकाईमा बिस्तृत फाईल रहेको भन्दै त्यसबारेमा निर्णय भए नभएको जानकारी नआएको बताएका थिए ।

बैठकमा नै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले समेत सो फाईल आएको जानकारी दिँदै त्यसबारेमा कुनै निर्णय नगरिएको बताए ।

‘कम्पनीलाई निजीकरण गरिँदैन् । रणनीतिक साझेदार चाहिने वा नचाहिने भन्ने बारेमा निवेदन दिनुभएको थियो तर त्यो सिधै आएको हुँदा कम्पनीले नै आफ्नो आवश्यकता बारेमा भन्नुस् भनेर फिर्ता गरिदिएका छौं,’ अर्थमन्त्री डा खतिवडाले समितिमा भने ।

उनले माथिबाट निर्देशन दिएर रणनीतिक साझेदार ल्याउ भन्नुको साटो कम्पनीले सो बारेमा अध्ययन गरेर आवश्यकता पहिचान गर्नुपर्ने बताए ।

बैठकपछि टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग कुराकानी गर्दै रणनीतिक साझेदार ल्याउने बारेमा आन्तरिक छलफल गरिएको जानकारी दिए ।

‘हामीले रणनीतिक साझेदार चाहिन्छ वा चाहिन्न भनेर आन्तरिक अध्ययन कमिटी बनाएका छौं, त्यसले हेर्दैछ,’ उनले भने ।

सो कमिटीले दिने प्रतिवेदनको आधारमा नै सरकारलाई सिफारिस गर्ने अधिकारीले जानकारी दिए ।

प्रकाशित: १७ श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार