
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले असार अन्तिममा सरकारलाई भुक्तानी गरेको नवीकरण दस्तुरको बारेमा निकै विवाद भएको छ ।
मोबाइल सेवाको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नविकरणको दोस्रो किस्ता रकम भुक्तानी गरेपछि टेलिकमका कर्मचारीहरु समेत आन्दोलनमा रहेका छन् ।
उनीहरुले सो बारेमा यसअघि देखि नै पटक/पटक सरकार र टेलिकम व्यवस्थापनलाई ज्ञापन पत्र नै बुझाएर नीतिगत व्यवस्थागर्न र हचुवाको भरमा शुल्क नतिराउन र नतिर्न चेतावनी दिँदै आएका छन् ।
पछिल्लो दिनमा विवादमा परेको नवीकरण दस्तुर भुक्तानीको बारेमा टेलिकमले भने नवीकरण दस्तुर तिर्नुको कारण बारेमा स्पष्ट पारेको छ ।
टेलिकमले विभिन्न कारणले नवीकरण शुल्क बापतको रकम समयमा नै नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्नाको कारणहरु बताएको हो ।
कम्पनीले विभिन्न ४ बुँदामा किन नवीकरण शुल्क तिरियो भनेर स्पष्ट बताएको हो ।
यसमा कम्पनीको दायित्व भएको र समयमा नै तिरेको उल्लेख छ भने संस्थागत सुशासनका कारण समेत रकम तिरिएको उल्लेख छ । त्यसैगरि नेपाल टेलिकमले नवीकरण शुल्क वापतको रकम यथासमयमै नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने कारणहरु ब्राण्ड भ्यालूमा धक्का लाग्न सक्ने र ग्राहकहरु सशंकित हुनसक्ने अवस्था आउने हुँदा समयमा नै रकम तिरिएको उल्लेख गरेको छ ।
नवीकरण शुल्क तिर्नुका यी हुन ४ कारणहरु
– नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले लिखित रुपमै यति नियामक शुल्क यो मितिसम्म बुझाउनु भनी पत्राचार गरेपछि कम्पनीको सामान्य दायित्वभित्र पर्ने हुनाले यो समयमै तिरिएको हो ।
– कम्पनीले नवीकरण दस्तुर समयमै नतिर्दा कम्पनीको वित्तीय अवस्थामा अनेकौं कोणबाट प्रश्न उठ्न सक्थ्यो ।
– सबल र सक्षम रुपमा आफ्नो पहिचान बनाइरहेको कम्पनीको संस्थागत सुशासनमा प्रश्न चिन्ह लाग्नसक्थ्यो ।
– यसका साथै तोकिएको नवीकरण रकम सञ्चित हुँदा पनि समयमै नबुझाउँदा आम ग्राहक र साझेदारका नजरमा कम्पनीको ब्राण्ड भ्यालुमा धक्का लाग्नसक्ने अवस्था आउन सक्थ्यो ।
टेलिकमले शुल्क तिर्ने कारणहरु बताईरहँदा उतातिर कर्मचारीहरुले भने आजै संयुक्त संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार