Technology Khabar १ श्रावण २०७७, बिहीबार
काठमाडौं ।
सामुदायिक विद्यालयहरुमा स्थापना गर्ने भनिएको सूचना प्रविधि ल्याबको कार्य तोकिएको सम्झौता म्यादभित्र सम्पन्न नभएको भन्दै महालेखापरीक्षकले सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाउनुपर्ने बताएको छ ।
महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनले सूचना प्रविधि ल्याबको कार्य तोकिएको अवधिमा सम्पन्न नभएको औंल्याएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले संचालन गरिरहेको सो योजना सम्झौतामा ६ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख भएपनि सम्झौताको म्यादभित्र कुनै प्रगति नभएको महालेखाले बताएको हो । यसरी योजना संचालन अवस्था अलपत्र भएको सम्बन्धमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणले सो सूचना प्रविधि ल्याब स्थापना गर्नका लागि १६ करोड ९० लाख ५९ हजार रुपैयाँमा सम्झौता गरेपनि सो काम तोकिएको अवधिमा सम्पन्न गराउन नसकेको उल्लेख छ ।
सो योजनाअनुसार सातै प्रदेशका ४४ माध्यमिक विद्यालयमा सोलार पावर जडान गर्ने तथा सातै प्रदेशका ६९२ माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गर्न कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने प्रावधान रहेको थियो ।
प्रकाशित: १ श्रावण २०७७, बिहीबार