चन्द्रमामा प्रयोग गर्ने शौचालयको डिजाइन र प्रविधि नासालाई दिनुस्, ४२ लाख रुपैयाँ पुरस्कार जित्नुस्

Technology Khabar १३ असार २०७७, शनिबार

काठमाडौं ।

चन्द्रमामा जाने मानिसहरुको लागि आवश्यक पर्ने शौचालयको बारेमा तपाईँले नासालाई जानकारी दिएर पुरस्कार प्राप्त गर्न सक्नुहुने भएको छ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरी मानिस पठाउने योजना गरिरहेको समयमा सो स्थानमा आवश्यक पर्ने शौचालयको बारेमा आफ्नो सुझाबहरु पठाउन भनेको छ ।

नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने शौचालयको डिजाइन र तरिकाको बारेमा आफ्नो विचार र आईडियाहरु पठाउन सकिने बताएको हो ।

नासाले हिरोएक्ससँगको सहकार्यमा एजेन्सीको लुनार ल्याण्डरको लागि आवश्यक पर्ने शौचालय कस्तो बनाउने भन्ने बारेमा प्रतिस्पर्धा शुरु गरेको छ । जसको नाम ‘लुनार लू च्यालेन्ज’ रहेको छ ।

सो प्रतिस्पर्धाअन्तरगत सन् २०२४ भित्र चन्द्रमामा पुर्याईने पहिलो एकजना पुरुष र एकजना महिला अन्तरिक्ष यात्रीको लागि शौचालयको डिजाइन, प्रयोगको तरिकालगायतको बारेमा नासालाई जानकारी दिन सकिनेछ ।

त्यसमा कस्तो प्रकारको शौचालय प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धानकै क्रममा रहेको हुँदा विश्वभरका मानिसहरुको विचार र सुझाबलाई समेत संकलन गर्न लागिएको हो ।

तपाईँले शौचालयका लागि आफ्नो आईडिया शेयर गरेर पुरस्कार समेत जित्न सक्नुहुनेछ । नासाले बिजेता आईडियालाई आगामी ल्याण्डरका लागि प्रयोग गर्नेछ भने कुल ३५ हजार अमेरिकी डलर अर्थात करिब ४२ लाख रुपैयाँ नगद समेत हात पार्न सक्नुहुनेछ । जसमा पहिलो पुरस्कार २० हजार डलर, दोस्रो १० हजार डलर र तेस्रो हुने आईडियाले ५ हजार डलर प्राप्त गर्नेछन् ।

चन्द्रमामा पृथ्वीको कक्षमा भन्दा करिब ६ गुणा कम गुरुत्वाकर्षण भएको हुँदा नासाले सो समस्यालाई समाधान गर्नेगरि शौचालयको डिजाइन खोजेको हो । जसमा कसैले पनि नविनतम डिजाइन र प्रविधिसहित सुझाब दिनसक्नेछ ।

सो शौचालयको डिजाइनले पानीको बचत गर्नुका साथै वातावरणमैत्री र ल्याण्डरभित्र गन्धरहित तथा जिबाणुरहित किसिमको हुनुपर्ने सो प्रतिस्पर्धाको गाईडलाइनमा भनिएको छ ।

त्यसैगरि त्यसमा अन्तरिक्ष यात्रीहरुले वान्ता गर्नुपर्ने भएको खण्डमा शौचालयमा टाउको नराखीकन नै गर्न सक्ने डिजाइनलाई थप अंक दिईनेछ ।

चन्द्रमामा प्रयोग गरिने शौचालयको डिजाइन अवधारणा आगामी अगस्ट १७ तारिखभित्र नासालाई पठाउनुपर्नेछ भने अक्टोबरमा बिजेता घोषणा गरिनेछ ।

यदि तपाइँ पनि यो प्रतिस्पर्धामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर बिस्तृत जानकारी लिनसक्नुहुनेछ ।

प्रकाशित: १३ असार २०७७, शनिबार

तपाइको प्रतिक्रिया