
काठमाडौं ।
हालसालै ब्राजिलमा जून १५ मा फेसबुकले शुरु गरेको व्हाट्सएप पेमेन्ट सर्भिस (भुक्तान सेवा) अब त्यहाँ निलम्बित गरिएको छ। ब्राजिलको केन्द्रीय बैंकले भिसा र मास्टरकार्डलाई व्हाट्सएप भुक्तान सेवा परियोजनामा फेसबुकसँग काम नगर्न आदेश दिएको छ।
चाखलाग्दो कुरा के हो भने ब्राजिल पहिलो देश हो जहाँ फेसबुकले व्हाट्सएप भुक्तान शुरू गरेको हो। भारतमा २०१८ देखि कम्पनीले यसको परीक्षण गरिरहेको छ, तर अहिलेसम्म सरकारबाट स्पष्ट स्वीकृति नभएको कारण सुरु हुन सकेको छैन।
ब्राजिलको केन्द्रीय बैंकले प्रतिस्पर्धी विरोधी प्रकृति भएकोले व्हाट्सएप भुक्तानी रोक्न निर्णय गरेको छ।
ब्राजिलको केन्द्रीय बैंकले एक विज्ञप्तिमा जारी गरेर भन्यो, ‘केन्द्रीय बैंकको निर्णय पर्याप्त प्रतिस्पर्धी वातावरणको संरक्षण गर्नका लागि हो, जसले एक अन्तर-प्रणाली, छिटो, सुरक्षित, पारदर्शी र सस्तो भुक्तान प्रणाली सुनिश्चित गर्दछ।’
यति मात्र होइन, ब्राजिलको केन्द्रीय बैंकले व्हाट्सएप भुक्तानी सेवाको गोपनीयता बारे चिन्ता समेत व्यक्त गरेको छ। बैंकको भनाइबाट यो पनि खुलेको छ कि प्रक्षेपण हुनु अघि बैंकले व्हाट्सएप भुक्तानी सेवाको विश्लेषण गर्ने अवसर पाएको छैन।
यसबारे व्हाट्सएपका प्रवक्ताले भने, ‘हाम्रो उद्देश्य भनेको ब्राजिलका सबै व्हाट्सएप प्रयोगकर्ताहरूलाई खुला मोडेल मार्फत डिजिटल भुक्तानी उपलब्ध गराउनु हो र हामी यसलाई सम्भव बनाउनका लागि स्थानीय साझेदारहरू र केन्द्रीय बैंकसँग काम गर्ने छौं।’ एजेन्सीका साथ
प्रकाशित: ११ असार २०७७, बिहीबार