ज्ञान पार्कको लागि ‘डिपिआर’ तयार पार्न प्रस्ताव आव्हान, जग्गा कहिले आउँछ अझै टुंगो छैन्

Technology Khabar ११ असार २०७७, बिहीबार

काठमाडौं ।

सरकारले ललितपुर जिल्लाको खुमलटारमा स्थापना गर्ने भनेको ज्ञान पार्कको लागि निर्माणको काम अगाडि बढाएको छ । पहिलो चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको सूचना प्रविधि विभागले बिस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर तयार गर्न लागेको छ।

यसअघि चालु बर्षको बजेटमा नै राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने भनेर घोषणा गरिएको सो स्थान रेडियो नेपालको स्वामित्वमा रहेको छ । जहाँ अहिले पनि केहि साना संरचनाहरु रहेका छन् ।

सरकारले ज्ञान पार्क निर्माण गर्ने भनिएको सो स्थानलाई सूचना प्रविधि विभागले हेर्नेगरि तोकेसँगै विभागले हाल डिपिआर निर्माणको लागि प्रस्ताव आब्हान गरेको छ ।

विभागले आर्थिक वर्ष २०७७/७८ भित्र प्रतिवेदनलाई कार्यान्वयन गर्ने योजनाअनुसार ६ महिनाभित्र डिपिआर तयार गर्नेगरि परामर्शदाताहरु माग गरेको हो ।

बिस्तृत परियोजना प्रतिवेदन तयार पार्न विभागले करिब १ करोड रुपैयाँ बजेट बिनियोजन गरेपनि हाल प्रतिवेदनको लागि सो भन्दा निकै कम लागत लाग्ने अनुमान गरिएको छ ।

विभागले डिपिआर बनाउनका लागि प्रस्ताव आव्हान गरेपनि रेडियो नेपालको स्वामित्वमा रहेको सो जग्गा अझैपनि सूचना प्रविधि विभागको नाममा आउन सकेको छैन् ।

त्यसको लागि विभागले भूमी व्यवस्था मन्त्रालयमा प्रकृया अगाडि बढाईसकेको जानकारी दिएको छ ।

विभागका सूचना अधिकारी लोकराज शर्माले जग्गा ल्याउने प्रकृया शुरु गरिसकेको हुँदा डिपिआर पनि साथै तयार पार्ने योजना लिईएको बताए ।

‘अहिले नै विल्डिङ्ग बनाई हाल्ने होईन तर भविश्यमा कस्ता उद्योगहरु स्थापना र संचालन गर्ने त्यसको लागि कसरी संरचनाहरु बनाउने भन्ने तयार गर्न लागिएको हो, हामीले जग्गाको लागि भूमी व्यवस्था मन्त्रालयमा पनि पहल गरिरहेका छौं,’ सूचना अधिकारी शर्माले भने ।

उनकाअनुसार सो डिपिआर सम्झौता भएको ६ महिनाभित्र तयार हुनेछ भने त्यसपछि बाँकी ६ महिना थप अवधिमा अध्ययन र प्रतिवेदनलाई कार्यान्वयन गर्ने गरि आगामी १ वर्षको अवधि लाग्नेछ ।

शर्माले सो स्थानमा ज्ञान पार्क निर्माण भएसँगै काठमाडौंबाट नजिक भएको हुँदा सूचना प्रविधिका उद्योगहरुलाई राख्न सहज हुने अपेक्षा गरिएको बताए ।

सरकारले चालु आवको बजेटमा नै रेडियो नेपालको ११८ रोपनी जग्गामा राष्ट्रिय ज्ञान पार्क बनाउने घोषणा गरेको थियो ।

सोहि स्थानमा रहेको रेडियो नेपालको अर्को ४२ रोपनी जग्गामा भने नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटको लागि आवश्यक पर्ने अर्थ स्टेशन राख्ने योजना गरिएको छ ।

ज्ञान पार्क र दूरसञ्चार प्राधिकरणलाई दिईने जग्गा सडकको वारिपारि रहेको छ । तर दुबै जग्गाहरु अझै नामसारी हुन सकेको छैन् ।

१ वर्षमा पनि नआएको रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणको नाममा कहिले आउला ?

सरकारले बनेपामा रहेको आईटी पार्कमा सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस राख्ने निर्णय गरेसँगै आईटी पार्कलाई ज्ञान पार्को नाममा ललितपुरमा स्थापना गर्न लागिएको हो ।

यो पनि हेर्नुस्-

रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणलाई, स्याटेलाइटको अर्थ स्टेशन बनाउने

प्रकाशित: ११ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया