‘क्वीक भुक्तानी’ प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

Technology Khabar ९ असार २०७७, मंगलवार

काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।

‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ Invoice Discounting तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म Reverse Factoring Platform युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो ।

सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने कम्पनीले बताएको छ ।

‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ताहरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।

सप्लायरले, यो प्लेटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टले लिएको छ ।

प्रकाशित: ९ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया