काठमाडौं महानगरपालिकाले ‘महानगर स्मार्ट कार्ड’ प्रयोगमा ल्याउँदै, तारहरु भूमिगत गर्ने योजना

  • Technology Khabar | ५ असार २०७७, शुक्रबार
काठमाडौं महानगरपालिकाले ‘महानगर स्मार्ट कार्ड’ प्रयोगमा ल्याउँदै, तारहरु भूमिगत गर्ने योजना
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममार्फत महानगरलाई स्मार्ट शहरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महानगरलाई स्मार्ट शहरको रुपमा विकास गर्न ‘केएमसी आईसिटी मास्टरप्लान’ तयार गरि कार्यान्वयन गर्ने भएको हो ।

यसका साथै सूचना प्रविधिको विकास गर्न विद्युतीय भुक्तानी प्रणालीलाई महानगरपालिकाको सेवासँग आबद्ध गर्न सम्बन्धित निकायहरुको सहकार्यमा ‘महानगर स्मार्ट कार्ड’ प्रयोगमा ल्याईने उल्लेख गरेको छ।

नीति तथा कार्यक्रमअनुसार हाल विभिन्न स्थानमा संचालनमा रहेका निशुल्क वाईफाई सेवाहरुलाई क्रमशः बिस्तार गर्दै लाग्नेछ ।

त्यसैगरि महानगरपालिकामा ई–गभर्नेन्स प्रणालीको विकास गर्न आवश्यक पूर्वाधारहरुको निर्माण एवं सो को प्रभावकारी सञ्चालन गरिनेछ ।

शहरका मुख्य चोकहरु तथा सुरक्षा संवेदनशील क्षेत्रहरुमा थप सीसीटिभी क्यामरा जडान गरिने योजना लिएको छ भने डिजिटल अर्वान सेक्यूरिटी सिस्टमको (Digital Urban Security System) अवधारणा कार्यान्वयन गर्न नेपाल प्रहरीसँग साझेदारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क लगायत विद्युतीय प्रणालीबाट गर्न प्रोत्साहन गर्ने महानगरको नीति तथा कार्यक्रममा रहेको छ ।

यस अतिरिक्त महानगरले आगामी आवमा विभिन्न किसिमका तारहरुलाई भूमिगत गर्ने योजना समेत ल्याएको छ। जसमा नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा महानगर क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टिभि, ईन्टरनेट लगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

अनलाइन शिक्षा

अनलाइन शिक्षालाई ध्यानमा राखेर समेत काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जसमा सामुदायिक विद्यालयहरूमा अनलाइन तथा दूर शिक्षाको माध्यमबाट पनि पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग विज्ञान प्रविधिमा आधारित नवप्रवर्तन केन्द्र तथा विज्ञान पार्कको स्थापनाको लागि सहकार्य गरिने उल्लेख छ भने काठमाडौं महानगरपालिकाको आफ्नै एक प्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गरिने नीति रहेको छ ।

सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिनेछ । छनौट भएका विद्यालयहरुमा STEAM Club स्थापना गरी विज्ञान, प्रविधि, इञ्जिनीयरिङ्ग, कला र गणितमा आधारित आविष्कारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

विद्यालयहरूबीच वार्षिक रूपमा आविष्कार प्रतिस्पर्धाको आयोजना गरी विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गरिने नीति महानगरले लिएको छ ।

प्रकाशित: ५ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ५ असार २०७७, शुक्रबार