
काठमाडौं ।
नेपालमा समाचार हेर्न वा पढ्नको लागि सामाजिक संजालमा शेयर भएका जानकारी हेर्नेहरुको संख्या बढिरहेसँगै फेसबुकमार्फत समाचार हेर्नेहरु अधिक रहेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रेस काउन्सिल नेपालले गरेको केहि साता अघि सार्वजनिक गरेको ‘कोरोना महामारीको समयमा मिडियोको विश्वसनीयता सम्बन्धी मिडिया सर्वेक्षण’ अनुसार नेपालमा समाचार थाहा पाउन सबैभन्दा धेरैले फेसबुक प्रयोग गर्ने गरिएको छ ।
सो मिडिया सर्वेक्षणले करिब ४९.४ प्रतिशत सहभागीहरुले सामाजिक संजालमा आएका सूचना र समाचारमूलक सामाग्रीहरु प्रति सामान्य विश्वास भएको बताएका छन भने ३०.७ प्रतिशतले न्यून विश्वास तथा १५.९ प्रतिशतले अति न्यून विश्वास भएको विचार व्यक्त गरेको देखाएको छ ।
त्यसैगरि सामाजिक संजालहरुमध्ये पनि सबैभन्दा धेरै फेसबुकको प्रयोग हुने गरेको देखिन्छ । अन्य सोशल मिडियामा ट्विटर, ह्वाट्सएप, यूट्यूब रहेको भएपनि त्यसको संख्या निकै न्यून छ । जसअनुसार फेसबुकमार्फत करिब ८०.७ प्रतिशत सर्वेक्षणमा सहभागीहरुले समाचार प्राप्त गर्ने गरेको देखिएको छ ।
प्रेस काउन्सिलको सो सर्वेक्षणमा ट्विटरको प्रयोग समाचार थाहा पाउनका लागि ८ प्रतिशतले मात्र प्रयोग गर्ने गरेका छन भने यूट्यूबमार्फत सूचना तथा जानकारी लिन ९.१० प्रतिशत र ह्वाट्सएपको संख्या २.३० प्रतिशत रहेको छ ।

प्रदेशको आधारमा हेर्दा प्रदेश नं. १ र गण्डकी प्रदेशका सहभागीहरुको बराबर संख्यामा सामाजिक संजालमा राखेका सामाग्रीहरुप्रति अधिक विश्वास र सामान्य विश्वास दुबै हुने खालको मिश्रित प्रतिकृया दिएको सर्वेमा उल्लेख छ । प्रदेश नं. ५ मा भने न्यून विश्वास भएको विचार व्यक्त गर्ने सहभागीहरु अधिक रहेको उल्लेख छ ।


सर्वेक्षण २०७६ चैत ११ गतेदेखि २०७७ वैशाख ३० गतेसम्मको लकडाउनको अवधिभर कोरोना विषयमा मिडियाहरुबाट भएका समाचार प्रवाहका विषयमा केन्द्रित रहेर गरिएको हो ।
जसमा ११ वटा प्रश्नहरु सबै प्रदेश र काठमाडौं उपत्यकाका १७६ सहभागीहरु रहेको र विभिन्न ११ पेसाका मानिसहरु सहभागी रहेको काउन्सिलले जानकारी दिएको छ ।
नेपालमा हाल २०६५ वटा अनलाइन दर्ता भएर संचालनमा छन् ।
प्रकाशित: ४ असार २०७७, बिहीबार