
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक संस्थाहरुले वालेटमार्फत कारोबार गर्नका लागि अब विद्युतीय रकम जारी गर्नसक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ अनुसार भुक्तानी सेवा प्रदायकहरुले नेपाली मुद्रामा विद्युतीय रकम जारी गर्न सक्नेछन्।
नयाँ विनियमावलीअनुसार विद्युतीय रकम जारी गर्ने संस्थाले आफ्नो वाणिज्य बैंकमा रहेको सेटलमेण्ट खातामा कायम भएको मौज्दात रकम भन्दा बढी नहुने गरी विद्युतीय रकम जारी गर्नुपर्ने छ ।
सेटलमेण्ट खातामा रहेको रकम ग्राहकको वालेटमा रहेको विद्युतीय रकमको दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि उपयोग गर्न सकिने छ ।
तर नेपाली मुद्रामा मात्र जारी गर्न सकिने विद्युतीय रकमबाट ग्राहकलाई कर्जा दिन भने नपाईने व्यवस्था विनियमावलीले गरेको छ ।
विद्युतीय रकम जारी गर्ने संस्थाले ग्राहकको अनुरोध भएमा वालेटमा रहेको विद्युतीय रकम कानूनी ग्राह्य मुद्रामा तुरुन्त फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।
संस्थाले विद्युतीय रकमबाट हुने कारोवारको अन्तिम फछ्र्यौट भुक्तानी निर्देशन शुरु गरेको बढीमा चौबिस घण्टाभित्र हुने गरी मिलाउनु पर्ने व्यस्था विनियमावलीमा उल्लेख गरिएको छ ।
प्रकाशित: २ असार २०७७, मंगलवार