
काठमाडौं ।
नेपाल विद्यार्थी संघले अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
संघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सबै प्रकारका प्रविधिको प्रयोग गरेर सिकाई शुरु गर्न र इन्टरनेट निःशुल्क गर्न माग गरेको हो ।
‘विद्यार्थीको सिकाइका निम्ति अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट आगामी शैक्षिक सत्रको पठनपाठन सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिको निःशुल्क व्यवस्था गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।
त्यसैगरि संघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो ।
नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग राखेको छ ।
यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा नीजि विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।
नेविसंघले कक्षा ११ को परीक्षाफल आन्तरिक मूल्याङकनका आधारमा गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार