यी ७ धार्मिक स्थलहरुमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | २० जेष्ठ २०७७, मंगलवार
यी ७ धार्मिक स्थलहरुमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

धार्मिक स्थलहरुमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले टेण्डर आब्हान गरेको छ ।

प्राधिकरणले आज नेपालको विभिन्न धार्मिक क्षेत्रहरुमा वाईफाई जडान गर्नका लागि आवेदन माग गरेको हो ।

सो आवेदनअनुसार जानकी मन्दिर, पाथिभरा मन्दिर, हलेसी महादेव मन्दिर, बराहक्षेत्र, गुरुद्धारा, जामे मस्दिज, पञ्च कस्मिरी तकियामा सरकारी लगानीमा निशुल्क वाईफाई पुर्याईन लागिएको हो ।

टेण्डर प्राप्त गर्ने कम्पनीले ती क्षेत्रहरुमा तोकिएको ब्याण्डविथअनुसारको इन्टरनेट सेवा पुर्याउनुपर्नेछ ।

कुन स्थानमा कति इन्टरनेट ब्याण्डविथ ?

जसमा जानकी मन्दिरमा २५ एमबिपिएस तोकिएको छ भने पाथिभरा, हलेसी महादेवमा १५ एमबिपिएसको इन्टरनेट हुनुपर्नेछ। त्यसैगरि बराहक्षेत्रमा १०, गुरुद्धारामा २०, जामे मस्दिजमा १० र पञ्च कस्मिरी तकियामा १५ एमबिपिएसको डेडिकेटेड ब्याण्डविथ उपलब्ध गराउनुपर्नेछ।

यो टेण्डरमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमात्र सहभागी हुन पाउनेछन् जसले अवार्ड पाएको ६ महिनाभित्र ती स्थानहरुमा सेवा उपलब्ध गराउनुपर्नेछ ।

प्राधिकरणले आफ्नै बजेटबाट ७ वटा स्थानहरुमा वाईफाई सेवा दिन लागेको प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘यसअघिको टेण्डर स्थगित भएको थियो र अहिले पनि ती स्थानहरुमा नै इन्टरनेट सेवा पुर्याउन लागिएको हो, अहिले ६ महिनाभित्र इन्टरनेट पुर्याउनेगरि टेण्डर गरिएको छ,’ प्रवक्ता अर्यालले भने ।

ती स्थानहरुमा अप्टिकल फाइबर केबलद्धारा इन्टरनेट सेवा पुर्याउनु पर्नेछ ।

यस टेण्डरमा सहभागी हुनका लागि बिगत ३ वर्षदेखि न्यूनतम २ करोडको वार्षिक कारोबार गरेको हुनुपर्नेछ । त्यसैगरि सहभागी कम्पनीले कम्तिमा १०० वटा फिक्स्ड डाटा ग्राहक १ वर्षदेखि बनाएको हुनुपर्नेछ भने कम्तिमा १०० किलोमिटरको नेटवर्क संचालन गरेको हुनुपर्नेछ ।

टेण्डरमा सहभागी कम्पनीले ७ लाख २० हजार रुपैयाँ धरौटी राख्नुपर्ने मापदण्ड तोकिएको छ, जसमा ज्वाइन्ट भेन्चरलाई मान्यता नदिईने टेण्डर डकुमेन्टमा उल्लेख छ ।

तीन प्याकेजमा विभाजन गरिएको यो परियोजनाको प्याकेज सीअन्तरगतका धार्मिक क्षेत्रहरुमा निशुल्क ईन्टरनेट सेवा पुर्याउन लागिएको हो ।

यसको बजेट लागत २ करोड रुपैयाँ राखिएको छ ।

यो पनि हेर्नुस्-

धार्मिक तथा पर्यटकीय क्षेत्रमा फ्री वाईफाई उपलब्ध गराउने टेन्डर प्रक्रिया रद्ध

प्रकाशित: २० जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...