काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा दूरसंचार क्षेत्रबाट ११ अर्ब भन्दा बढि राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को लागि सार्वजनिक गरिएको बजेटअनुसार सरकारले आगामी वर्ष दूरसंचार सेवा शुल्क र टेलिफोन स्वामित्वको शुल्क बापत संयुक्तरुपमा ११ अर्ब भन्दा बढि राजस्व रकम उठाउने लक्ष्य लिएको छ ।
बजेटअनुसार आगामी आवमा सरकारले दूरसंचार सेवा शुल्क बापत ९ अर्ब ९५ करोड ९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने टेलिफोन स्वामित्वको शुल्क बापत १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ उठाउने अनुमान गरेको छ ।
दूरसञ्चार सेवा शुल्क र टेलिफोन स्वामित्वको शुल्क संकलनमार्फत संयुक्तरुपमा ११ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको हो ।
यसमा अहिलेकै स्रोतबाट दूरसंचार सेवा शुल्क ९ अर्ब ६५ करोड २३ लाख रुपैयाँ संकलन हुनेछ भने टेलिफोन स्वामित्वको शुल्क १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ हुनेछ ।
सरकारले वर्तमान स्रोतबाट हासिल हुने करमा आगामी वर्ष कर परिवर्तन तथा प्रशासनिक सुधारबाट आगामी वर्षमा यस्तो करहरुमा थप वृद्धि गर्ने लक्ष्य लिएको छ ।
सुधारबाट थप हुने करमा २९ करोड ८६ लाख रुपैयाँ दूरसंचार सेवा शुल्कमा थप हुनेछ भने ४ करोड ७५ लाख रुपैयाँ स्वामित्वको शुल्क थप गर्ने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा सरकारले दूरसंचार सेवा शुल्क र टेलिफोन स्वामित्वको शुल्कबापत संयुक्तरुपमा ११ अर्ब ६५ करोड ३ लाख रुपैयाँ हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा यस्तो रकम दूरसंचार सेवा शुल्क बापत ५ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ उठने अनुमान गरिएकोछ भने टेलिफोन स्वामित्वको शुल्क १ अर्ब ५४ करोड २६ लाख रुपैयाँ संकलन गर्ने अनुमानित लक्ष्य रहेको छ ।
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार