
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले हालैको अमेरिकी प्रशासनको कदमलाई ‘स्वेच्छाचारी’ भएको बताएको छ ।
अमेरिकी राष्ट्रपतिले हालै ह्वावेमाथि थप १ वर्षको प्रतिबन्ध लगाएका थिए भने अमेरिकी प्रशासनले चिप निर्माता कम्पनीहरुलाई समेत ह्वावेसँगको कारोबार गर्नका लागि प्रतिबन्ध लगाएको छ ।
ह्वावे टेक्नोलोजीजले अहिले औपचारिकरुपमा नै सो कार्यको विरोध गर्दै विश्वचर चिप आपूर्तिमा पहुँच रोक्नु अमेरिकाको मनोमानी भएको आरोप लगाएको हो । कम्पनीले यो निर्णयले आफ्नो व्यवसाय प्रभावित हुने बताएको छ ।
ह्वावेका वर्तमान चेयरम्यान गुओ पिङ्गले हालै आयोजना भएको ह्वावेको वार्षिक ग्लोबल एनालिस्ट समिटमा बोल्दै भने, ‘हामी अपेक्षा गरिरहेका छौं की यसले हाम्रो व्यवसायलाई अनिवार्यरुपले असर पर्नेछ ।’
उनले यसअघिका वर्षहरुमा भोगेको चुनौतीहरुले आफूहरुलाई बाक्लो छाला बनाउन सहयोग गरेको भन्दै छिटै समाधानहरु पत्ता लगाईने विश्वास व्यक्त गरे ।
‘वर्तमानमा हामीहरुको लागि बाँच्नु नै महत्वपूर्ण शब्द हो,’ गुओले भने ।
गुओले अमेरिकी नियमहरु पालना गर्न प्रतिबद्ध रहेको भन्दै कम्पनीले अमेरिकी दबाबलाई सम्बोधन गर्न निरन्तर अनुसन्धान र विकास तथा वस्तुहरुमा वृद्धि गरेको बताए ।
ह्वावेले अमेरिकी निर्णयलाई स्वेच्छाचारी तथा खतरनाक भनेको छ, र साथै यसले विश्वभरको समग्र उद्योगलाई नै कमजोर मानेर धम्की दिएको बताएको छ ।
‘ह्वावे सो संसोधनको स्पष्टरुपमा विरोध गर्दछ जून अमेरिकी डिपार्टमेन्ट अफ कमर्शले विदेशी सिधा उत्पादनहरुलाई नियमन गर्न बनाएको हो र त्यसले विशेषगरि ह्वावेलाई नै लक्षित गरेको छ,’ कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।
गुओले गत वर्ष अमेरिकी आपूर्तिकर्ताहरुबाट १८.७ अर्ब डलर बराबरको सामाग्रीहरु आयात गरेको जानकारी दिँदै यदि अमेरिकी सरकारले अनुमति दिएको खण्डमा निरन्तर खरिद गर्ने बताए ।
कम्पनीले यो निर्णयले संचार सेवाहरुलाई पनि प्रभावित गर्ने भन्दै विश्वभर ३ अर्ब भन्दा बढि मानिसहरुले ह्वावेका उत्पादन तथा सेवाहरु प्रयोग गरिरहेको बताएको छ ।
यसले दिर्घकालमा ग्लोबल सेमिकण्डक्टर इन्डष्ट्रिका साथमा सहकार्य र विश्वासलाई समेत क्षति हुने उल्लेख गरेको छ ।
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार