कम्प्यूटर र पार्टपुर्जाको आयातमा १५३ प्रतिशतले वृद्धि, प्रमुख आयातित वस्तुमा दूरसञ्चार उपकरण

Technology Khabar ५ जेष्ठ २०७७, सोमबार

काठमाडौं ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्प्यूटर तथा त्यसको पार्टपुर्जाको आयात करिब डेढ अर्ब रुपैयाँ बराबरको भएको छ । तथ्यांकअनुसार आयात भएका वस्तु तथा सेवाको आधारमा कम्प्यूटर तथा त्यसका पार्टपुर्जाहरुको आयातमा उच्च वृद्धि देखिएको छ ।

चालु आवको पहिलो ९ महिनाको तथ्यांकअनुसार आयातमा उच्च वृद्धि हुने प्रमुख वस्तुहरुमध्ये कम्प्यूटर तथा त्यसको पार्टपुर्जा समेत परेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नौ महिनाको तथ्यांकअनुसार सो अवधिमा विभिन्न मुलुकहरुबाट १ अर्ब ५० करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टपुर्जाहरु आयात भएको छ ।

नौ महिनाको आयातको तुलना गर्दै राष्ट्र बैंकले चालु आवभित्र ३ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको कम्प्यूटर तथा पार्टपुर्जा आयात हुने प्रक्षेपण गरेको छ ।

राष्ट्र बैंककाअनुसार कम्प्यूटर तथा पार्टपुर्जाको आयातमा अघिल्लो आवको सोहि अवधिको तुलनामा १५३ प्रतिशतले वृद्धि भएको छ । यसअघिको वर्षमा त्यस्तो आयात वृद्धि १४.८० प्रतिशत मात्र रहेको थियो ।

कम्प्यूटर तथा पार्टपुर्जाको आयात भारत र चीन बाहेकका अधिकांश तेस्रो मुलुकबाट भएको तथ्यांकमा उल्लेख छ ।

दूरसञ्चार उपकरणको आयात

यसैगरि प्रमुख आयात हुने वस्तु तथा सामाग्रीहरुमध्ये टेलिकम उपकरणहरु तथा पार्टपुर्जा समेत परेको छ । जसमा पहिलो नौ महिनामा नेपालभित्र १७ अर्ब ९० करोड ८६ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरणहरु आयात भएको छ ।

प्रमुख आयात सामाग्रीको सूचीमा परेपनि अघिल्ला वर्षको सोहि अवधिको तुलनामा हेर्ने हो भने दूरसञ्चार उपकरणको आयातमा करिब ११ प्रतिशतको कमी देखिएको छ। जबकी अघिल्लो वर्ष यस्तो आयात २० अर्ब ६ करोड रुपैयाँ भन्दा माथि रहेको थियो ।

दूरसंचार उपकरणहरु सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ ।

तथ्यांकअनुसार चीनबाट १७ अर्ब ३५ करोड भन्दा बढिको सामाग्री आयात भएको देखिन्छ । जून अघिल्लो आवको सोहिअवधिको तुलनामा ९.२८ प्रतिशतले आयात घटेको देखिन्छ । तेस्रो मुलुकबाट आयात भएको दूरसंचार उपकरणहरु र पार्टपुर्जाको मूल्य २ अर्ब ७१ करोड ८७ लाख बराबरको रहेको छ ।

अन्य उपकरणहरु

चीनबाट आयात हुने अन्य इलेक्ट्रोनिक्स सामाग्रीहरुमा क्यामरा पनि प्रमुख रहेको छ । चालु आवको नौ महिनामा ४९ करोड १६ लाख बराबरको क्यामरा आयात भएको छ । यसका साथै चीनबाट नै प्रमुख आयात हुने वस्तुहरुमध्ये टेलिभिजन र त्यसका पार्टपुर्जा समेत रहेका छन् ।

यसैगरि तेस्रो मुलुकबाट पनि क्यामरा र टेलिभिजन तथा त्यसका पार्टपुर्जाहरु आयात भएको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा देखिन्छ ।

प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार

तपाइको प्रतिक्रिया