
काठमाडौं ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड-१९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्नेछन् ।
उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि मोबाइल क्लास डाटा प्याक ल्याएको छ ।
लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डाटा भोलुम रहेको यो प्याक आज (बुधबार, वैशाख ३१) बाट सञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डाटा भोलुमको समयसिमा ७ दिनको रहेको कम्पनीले जानकारी दिएको छ ।
मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबी अल टाइम डाटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डाटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डाटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफ्लिक्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् ।
यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डाटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसेर अध्ययन गर्न सक्छन् ।
विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ ।
नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याक मार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकैनै हर्षित रहेको एनसेलले जनाएको छ ।
अनलाइन सिकाईका लागि विषेश रुपमा तयार पारिएको यो डाटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको जानकारी दिएको छ ।
प्रकाशित: ३१ बैशाख २०७७, बुधबार