
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुबेदीले आजदेखि पदबाट अवकाश प्राप्त गरेका छन् ।
गत मंसिरदेखि मन्त्रालयमा सचिवको कार्यभार सम्हालेका सुबेदीले ६ महिनाको अवधिमा आफूले सकेअनुसारको जिम्मेवारी निभाएको बताए । तर यो क्षेत्रमा संतुष्ट हुनेगरि सुधारका काम गर्न नसकिएको बताए ।
अवकाश प्राप्त सचिव सुवेदीले दूरसञ्चार क्षेत्रलाई तिब्रगतिमा बिस्तार गर्न प्रयास गरेको र यसका सेवाहरुलाई गुणस्तरीय बनाउने प्रयास गरिएको जानकारी दिए ।
‘विशेषत समग्रमा दूरसंचार सेवालाई गुणस्तरीय बनाउनुका साथै देशैभर ४जी, एफटिटिएच लगायतका सेवालाई बिस्तार गर्न ध्यान दिएको थिएँ, तर कामगर्ने बेलामा कोभिड–१९ ले सबै रोकियो,’ आजै अवकाश पाएका सचिव सुवेदीले भने ।
उनले दूरसञ्चार क्षेत्रको समीक्षा गरेर नयाँ किसिमले अगाडि बढिरहेको बेलामा कोभिड-१९ ले समस्या भएपनि आगामी दिनमा मन्त्रालय अन्तरगतको सबै क्षेत्रहरु नयाँ ढंगले जाने विश्वास व्यक्त गरे।
‘मन्त्रालयअन्तरगतका १७ वटा युनिटहरुलाई कुनै न कुनैरुपमा अगाडि बढाएको थिएँ तर ती कामहरुबाट सन्तुष्ट हुन सकिन्,’ उनले भने ।
उनले विशेषगरि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का सेवाहरुलाई गुणस्तरिय बनाउन महत्वपूर्ण निर्णयहरु लिईएको बताए ।
यसअघि उनलाई सरकारले प्रदेश नम्बर २ मा कार्यरत रहेको बेला मन्त्रालयको सचिव नियुक्त गरेको थियो ।
उनको अवकाशपछि नयाँ सचिव नियुक्त नहुन्जेल वरिष्ठ सहसचिवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रकाशित: ३१ बैशाख २०७७, बुधबार