क्यान महासंघले भन्यो- सरकारले सूचना प्रविधिको महत्व बुझेन, प्राथमिकतामा पनि राखेन्

  • Technology Khabar | २७ बैशाख २०७७, शनिबार
क्यान महासंघले भन्यो- सरकारले सूचना प्रविधिको महत्व बुझेन, प्राथमिकतामा पनि राखेन्
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

कम्प्यूटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ)ले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तरगत राख्न माग गरेको छ।

महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र दिँदै सो माग गरेको हो।

ज्ञापन पत्रमा हालै सरकारले अन्य उद्योग व्यवसायलाई संचालन गर्न दिने भनेपनि सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै त्यसलाई अत्यावश्यक सेवाअन्तरगत राखेर खुला गर्न माग गरेको हो ।

अहिलेको लकडाउनको समयमा स्वास्थ्यपछि सबैभन्दा महत्वपूर्ण सेवा संचार तथा सूचना प्रविधि भएको क्यान महासंघको भनाई छ । जहाँ मानिसहरुले टेलिफोन र इन्टरनेटको प्रयोग गरिरहेको, अनलाईनबाटै बैकिङ्ग सेवा कारोबार भईरहेको तथा अनलाइन खरिदबिक्री भईरहेको र शिक्षा तथा तालीम लिईरहेको जानकारी गराईएको छ ।

असहज समयमा संचार तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी तथा व्यवसायीहरुले समयमा अत्यन्तै महत्वपूर्ण सुबिधा उपलब्ध गराएको भन्दै उनीहरुले लकडाउनले गर्दा कर्मचारीहरु तथा कामदारका साथै कार्यालय संचालनमा समस्या भएको ध्यानाकर्षण गराईएको छ ।

छिमेकी मुलुक भारतको उदाहरण दिँदै क्यान महासंघले नेपाल सरकारले भने सूचना प्रविधिको महत्व नबुझी यस क्षेत्रलाई प्राथमिकतामा नराखेको हुँदा यस क्षेत्रमा संलग्न सम्पुर्ण व्यवसायी एवं क्यान महासंघ दुखित भएको बताएको छ ।

‘इन्टरनेट सेवा अत्यावश्यक सेवामा रहेको भन्दै त्यसलाई सहित सूचना प्रविधि अन्तरगत हार्डवेयर तथा सफ्टवेयर मर्मत तथा सहयोग, बैंक, अस्पताल तथा खुला गरिएका उद्योगघन्दाहरुमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग बिभागमा दर्ता भएका सूचना प्रविधि कम्पनीहरुलाई तत्कालै संचालनको वातावरण बनाईदिनुहुन अनुरोध गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार