काठमाडौं ।
लकडाउनको बेलामा चीन फर्कन पाउनुपर्ने भन्दै निषेधित क्षेत्रमा आन्दोलन गर्ने चिनियाँहरुमध्येका केहि मोबाइल फोन कारोबारमा संलग्न कम्पनीका कर्मचारीहरु रहेका छन्।
शुक्रबार निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना र विरोधमा बसेका ४७ जना चिनियाँ नागरिकलाई प्रहरीले निषेधित क्षेत्रमा धर्ना दिएको र प्रहरीमाथि आक्रमण गरेको भन्दै पक्राउ गरेको थियो ।
जसमध्ये हातपातमा उत्रिने अधिकांश चिनियाँहरु मोबाइल कम्पनीको कारोबारमा संलग्न रहेका व्यक्ति भएको खुलासा भएको छ।
धर्नामा बसेका र प्रहरीमाथि हातपात गर्नेहरुमध्ये केहि भीभो मोबाइल ब्राण्डको नेपाल स्थित कम्पनीमा काम गर्दै आएका कर्मचारीहरु रहेका स्रोतले जानकारी दियो।
ओपो र भीभो, रियलमी, ह्वावेसहित अन्य चिनियाँ मोबाइल ब्राण्डका नेपालस्थित कम्पनीमा काम गर्ने मध्यम र उच्चतहका कर्मचारीहरु अधिकांश चिनियाँ नै हुने गरेका छन् । जसले मार्केटिङ्ग, पर्सनल रिलेसन, सेल्स, रेभेन्यूलगायतका क्षेत्रमा काम गर्ने गरेका छन् । उनीहरुले नेपाली भाषा नबुझेपनि दोभोषेहरुलाई नियुक्त गरेर आफैं नै फिल्डमा समेत खटिने गरेको न्यूरोड क्षेत्रका मोबाइल व्यवसायीहरुले बताउँदै आएका छन्।
यहि शुक्रबार भएको विरोध र प्रहरीमाथिको आक्रमणको घट्नामा पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई रिहा गरिएको र बाँकी ४ जनामाथि कारबाही र मुद्धा दायर गरिने काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
उनकाअनुसार ४ जनाले प्रहरीमाथि हातपात गरेको अभियोगमा कारबाही गरिनेछ र उनीहरु अहिले थुनामा रहेका छन् । विरोध गर्ने चिनियाँहरु नेपालका ठमेल, न्यूरोडलगायतका क्षेत्रहरुमा व्यापार व्यवसायमा काम गर्नेहरु, विभिन्न जलविद्युत कम्पनीमा काम गर्नेहरु रहेका उनले जानकारी दिए। उनले दिएको जानकारीअनुसार हाल थुनामा रहेका ४ जना लीयाे लाउ(Leo Lau), ग्याभीड(Gavid), जिङ्गजाङ्गथा (Zhaingjangtha) र गीगनानी(Giganani) रहेका छन् ।
मोबाइल क्षेत्रमा आबद्ध स्रोतले शुक्रबार सिंहदरबार क्षेत्रमा प्रहरीमाथि हातपात गर्नेहरु अधिकांश भीभो मोबाइलका कर्मचारीहरु रहेको र केहि अन्य मोबाइल कम्पनीमा आबद्ध रहेको दाबी गरेको छ।
‘हिजो संचारमाध्यम र सामाजिक संजालमा आएका भिडियो र तस्विरहरु हेर्दा विरोध गर्नेहरु मध्येका केहि नेपालमा चाईनिज मोबाइल ब्राण्ड कम्पनीमा कार्यरत कर्मचारीहरु हुन् । जसमध्ये केहिलाई आफैंले व्यक्तिगतरुपमा चिन्दछु,’ स्रोतले भन्यो ।
स्रोतकाअनुसार उनीहरु मोबाइल कम्पनीहरुमा आन्तरिक रुपमा रहेर उच्च तह र मध्यम तहमा कामगर्नेहरु र मोबाइल सेल्समा आबद्धहरु रहेका छन्।
यस विषयमा भीभो र ओपो कम्पनीआबद्ध स्रोतहरुसँग सम्पर्क गर्दा आफूहरु त्यसबारेमा स्पष्ट नभएको उनीहरुले बताए।
‘तस्वीर र भिडियोहरु हेर्दा हो जस्तो देखिन्छ तर मुखमा मास्क लगाएको हुँदा यसै भन्न सकिएन्, कम्पनीले कसैलाई पनि त्यस्तो आन्दोलन गर्न भनेको छैन्, कोहि व्यक्तिगतरुपमा गएको भए भन्न सकिएन्,’ कम्पनीका स्रोतहरुले भने ।
चिनियाँ राजदूतावासले पनि आजै प्रेस विज्ञप्ति जारी गरेर नेपालमा रहेका चिनियाँहरुलाई नेपालको कानून पालना गर्न र अन्तराष्ट्रिय हवाई उडान नखुलेसम्म पर्खन भनेको छ।
प्रकाशित: २७ बैशाख २०७७, शनिबार