Technology Khabar २६ बैशाख २०७७, शुक्रबार
काठमाडौं ।
नेपालमा समग्र दूरसंचार सेवाको पहुँचमा कमी आएको छ । यसका साथै मोबाइल ब्रोडब्याण्डको पहुँचमा कमी आएको देखिएको छ । तर यो तथ्यांक अहिलेको भने होईन् ।
नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार गएको माघ महिनामा दूरसंचार सेवाको पहुँचअन्तरगत मोबाइल र फिस्क्ड दुबै तर्फको पहुँचमा कमी आएको छ ।
सार्वजनिक भएको रिपोर्टअनुसार नेपालमा माघ महिनामा कुल दूरसंचार सेवाको पहुँच १३९.१७ प्रतिशत रहेको छ । जबकी यस्तो पहुँच पुस महिनामा कुल १४५.९० प्रतिशत रहेको थियो । दूरसंचार सेवाको पहुँच ६.७३ प्रतिशतले घटेको छ ।
त्यस्तै मोबाइल ग्राहकहरुको संख्या र पहुँचमा पनि कमी देखिएको छ । तथ्यांकअनुसार मोबाइलको पहुँच माघ महिनामा १३६.५४ प्रतिशत रहेको छ । तर यसअघिको पुस महिनामा यस्तो पहुँच १४३.२२ रहेको थियो । मोबाइल सेवाको पहुँचमा ६.६८ प्रतिशतको कमी आएको छ ।
मोबाइलमा मात्र नभई फिक्स्ड लाइनको टेलिफोन सेवामा पनि कमी देखिएको छ । फिस्क्डतर्फ माघ महिनामा २.६३ प्रतिशत पहुँच रहेको छ तर यसअघि पुस महिनामा यस्तो २.६७ प्रतिशत रहेको थियो ।
समग्रमा हेर्दा नेपालमा दूरसंचार सेवाको प्रयोगमा करिब १५ लाख सेवाग्राहीहरु घटेको देखिएको छ ।
सार्वजनिक भएको तथ्यांकअनुसार माघ महिनामा कुल सेवाग्राहीहरु ४ करोड १५ लाख ८० हजार ३९९ रहेको छ । तर पुस महिनाको अवधिमा सेवाग्राहीहरु ४ करोड ३० लाख ६० हजार ६८० रहेको देखिन्छ ।
जसअनुसार तुलनात्मकरुपमा एक महिनाको अबधिमा १४ लाख ८० हजार २८१ सेवाग्राहीहरु घटेका छन् । यी सबै घटेका ग्राहकहरु नेपाल टेलिकमको रहेका छन् ।
तथ्यांकअनुसार माघ महिनामा सबैभन्दा धेरै ग्राहकहरु नेपाल टेलिकमको घटेको देखिन्छ । जसमा मोबाइलका साथै फिस्क्ड लाइन र फिस्क्ड डब्लूएलएलमा ग्राहकहरु घटेका छन् ।
मोबाइल सेवाग्राहीको संख्या घट्यो
नेपाल टेलिकमका मोबाइल सेवाग्राहीहरु मात्रै एक महिनाको अन्तरमा १५ लाख १९ हजार १६९ ग्राहकहरु एक पटकमा घटेका छन् । माघ महिनामा टेलिकमसँग १ करोड ९८ लाख ६५ हजार २८६ जना मोबाइल ग्राहकहरु रहेका छन् । पुसमहिनामा त्यहि संख्या २ करोड १३ लाख ८४ हजार ४५५ जना रहेको थिए ।
पिएसटिएनमा पनि कमी
त्यति मात्र होईन् पिएसटिएनका ग्राहकहरु समेत माघ महिनामा घटेको देखिएको छ । पिएसटिएनका ग्राहकहरु पुस महिनामा ६ लाख ६७ हजार ९२६ जना रहेकोमा माघ महिनामा घटेर ६ लाख ६४ हजार ८६३ मा झरेको छ अर्थात एक महिनामा ३ हजार भन्दा बढि पिएसटिएसनका ग्राहकहरु कम भएका छन् ।
जिएसएम मोबाइल, पिएसटिएनलगायतमा ग्राहकहरु घटेपनि टेलिकमले सिडिएमएसमा भने ग्राहक थप गर्न सफल भएको तथ्यांकमा देखिन्छ।
एनसेल र स्मार्टको ग्राहक वृद्धि
टेलिकमको ग्राहकहरु घट्दा अन्य सेवा प्रदायकहरुको ग्राहक संख्या भने वृद्धि भएको देखिन्छ ।
सार्वजनिक तथ्यांकअनुसार माघ महिनामा एनसेलसँग १ करोड ७१ लाख ५७ हजार ३५८ जना मोबाइल ग्राहकहरु छन् । यस्तो संख्या पुस महिनामा १ करोड ७१ लाख १८ हजार १६३ मात्र थियो ।
त्यस्तै स्मार्ट टेलिकमले न्यून संख्यामा भएपनि मोबाइल ग्राहकहरु थप गर्न सफल भएको छ । माघ महिनामा २० लाख ९१ हजार २५७ ग्राहकहरु छन् । पुस महिनामा यस्तो ग्राहक संख्या २० लाख ९० हजार ३३७ रहेका थिए ।
नेपाल टेलिकमको मोबाइल सेवाका ग्राहकहरु ठूलो संख्यामा घटेको हुँदा त्यसले समग्र मोबाइल पहुँच र कुल मोबाइल पहुँचको दरमा नै कमी ल्याएको हो ।
अपरेटरहरुको बजार हिस्सामा पनि परिवर्तन
टेलिकमको मोबाइल सेवाका ग्राहकहरुको संख्यामा ठूलो कटौती हुँदा त्यसले मार्केट शेयरमा पनि परिवर्तन गरेको छ । यसअघि पुस महिनामा ५५.३९ प्रतिशत बजार हिस्सा ओगटेको नेपाल टेलिकमको बजार हिस्सामा करिब २ प्रतिशतले कमी हुँदै माघ महिनामा ५३.७० प्रतिशतमा झरेको छ ।
तर एनसेलले भने सो एक महिनाको अबधिमा बजार हिस्सा बढाएको छ । जहाँ एनसेलले पुसमा बजार हिस्सा ३९.७५ प्रतिशतबाट बढाएर ४१.२६ प्रतिशत पुर्याएको छ ।
त्यसैगरि स्मार्ट टेलिकमले पनि पुसको बजार हिस्सा ४.८५ प्रतिशतबाट बढाएर ५.०३ प्रतिशत पुर्याउन सफल भएको छ ।
*हेडलाइन सम्पादित
प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार