विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन नेविसंघको माग

Technology Khabar २१ बैशाख २०७७, आईतवार

काठमाडौं ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुका लाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ ।  विद्यार्थीहरुले शुल्क तिरेर अनलाइन अध्ययन गर्ने अवस्था नरहेको भन्दै टेलिकमसँग इन्टरनेट सुविधा निःशुल्क उपलब्ध गराउन माग गरेको हो ।

लकडाउनमा पठनपाठन बन्द भएको र विश्वविद्यालय एवम् विद्यालयहरुले अनलाइन कक्षा सुरु गरिरहेको अवस्थामा विद्यार्थीलाई कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्करुपमा इन्टरनेट सेवा उपलब्ध गराउन नेविसंघले माग गरेको हो ।

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यामम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

सबै नियमित अध्ययनरत विद्यार्थीहरूले वर्तमान परिस्थितीमा शुल्क तिरी इन्टरनेट सेवा लिएर पढाई जारी राख्ने अवस्था नरहेको हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई अध्ययनको लागि आवश्यक इन्टरनेट सुबिधा निशुल्क उपलब्ध गराउन हामी जोडदार माग गर्दछौं,” नेबिसंघ अध्यक्ष राजीव ढुंगानाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।

महामन्त्री दीपक भट्टराईले कोरोनाको असर नेपालको शिक्षामा पनि पर्ने पार्ने भएकाले अनलाइन कक्षा संचालन गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए । उनले दीर्घकालीन रूपमा पनि अनलाइन एजुकेसन बिस्तार गर्न इन्टरनेट आवश्यक पर्ने बताए।

ज्ञापनपत्र बुझ्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट दिँदा टेलिकमको नेटवर्कमा असर पार्ने हुँदा न्यूनतम शुल्कमा सेवा  उपलब्ध गराईरहेको जानकारी दिएका थिए ।

यसअघि नै नेपाल टेलिकमले अनलाइन शिक्षालाई सहयोग गर्न भन्दै ई-शिक्षा प्याकेज ल्याएको थियो ।

विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ। रु. २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमले अनलाइन शिक्षा सञ्चालन गर्न ई-शिक्षा प्याकेज ल्यायो, रु.५०० मा १५ जिबी डाटा

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया