
काठमाडौं ।
देशभर लकडाउनले गर्दा घरमा नै बसिरहेको बेलामा मोबाइलमा ब्यालेन्स अत्यन्त कम भएका नेपाल टेलिकमका ग्राहकहरुले फोनमा निःशुल्क भ्वाइस कल, एसएमएस र डाटा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकमले न्यून ब्यालेन्स भएका मोबाइल सेवा प्रयोगकर्ताहरुलाई निशुल्क सेवा दिने भएको हो ।
नेपाल टेलिकमबाट बितरित र हाल सक्रिय रहेका सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा सम्पर्क गर्न नसकेका सेवाग्राहीहरुले यो सेवा लिन सक्ने छन् । आजै राती १२ बजेदेखि लागहुने यो सेवामा करिब २ लाखभन्दा बढी टेलिकको मोबाइल सेवा प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने छन् ।
टेलिकमका सह प्रवक्ता कृष्णप्रसाद भण्डारीले न्यून ब्यालेन्स भएकाहरुलाई ध्यानमा राखेर सेवा ल्याउन लागेको जानकारी दिए ।
‘यसमा न्यूनतम ३० पैसा ब्यालेन्स भएको र लकडाउन शुरु भएको पहिलाे साता अर्थात मार्च २४ देखि मार्च ३१* पछि कम्तिमा एउटा फोन कल गरेको ग्राहक यो प्याकेजको लागि योग्य हुनसक्नेछ,’ उनले भने ।
प्राविधिक काम सकिएपछि आजै रातीदेखि लागू हुने उनले जानकारी दिए ।
नेपाल टेलिकमले छनौट गरेर प्याकेज प्राप्त गर्ने र आवश्यक पर्ने ग्राहकहरूलाई एसएमएसमार्फत जानकारी पठाउनेछ। ग्राहकहरुले सो एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत नै पुन टेलिकमलाई पठाएपछि मात्र प्याकेज लिन सकिने छ ।
तर यो सेवा लिन अयोग्य मोबाइल फोन नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको सन्देश आउने छ । प्याकेजको अवधि ७ दिनको हुने छ ।
सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध हुने बताईएको छ ।
यो सेवामा ५० मिनेट अन-नेट भ्वाइस कल निशुल्क आउनेछ भने २५ वटा अन-नेट एसएमएस र १०० एमबी डाटा ग्राहकहरुले निशुल्क प्राप्त गर्नेछन् ।
*मिति सच्याईएको- सम्पादक
प्रकाशित: ८ बैशाख २०७७, सोमबार