
काठमाडौं ।
अहिलेको माहामारीसँगै धेरै मानिसहरु घरबाटै काम गरिरहेका छन्, जसले गर्दा भिडियो कल र अडियो कलहरुको प्रयोग र माग निकै बढेको छ । जसलाई टेक कम्पनीहरुले समेत आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । र आफ्नो एप्लिकेसनहरुमा सुधार गरिरहेका छन् ।
हालै गूगलको डूओले आफ्नो भिडियो कलमा सहभागी हुनेहरुको संख्यामा ५० प्रतिशतले वृद्धि गरेको छ । अब भने फेसबुकको अधिनमा रहेको मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले पनि त्यस्तै काम गर्दैछ ।
ह्वाट्सएपको हालै सार्वजनिक भएको बीटा रिलिजमा देखिएको कोडले पनि कम्पनीले आगामी दिनमा केहि परिवर्तन गर्ने अनुमान गरिएको छ ।
जसअनुसार ग्रुप अडियो वा भिडियो कलमा सहभागी हुनेहरुको संख्यामा वृद्धि गर्नसक्ने बताईएको छ ।
हाल ह्वाट्सएपमा केबल ४ जनामात्र एकपटकमा भिडियो कल वा ग्रुप अडियोमा आउनसक्ने सुबिधा छ, जून बजारमा रहेका अन्य प्रतिस्पर्धीको तुलनामा निकै कम हो ।
अब भने ह्वाट्सएपको नयाँ भर्सन डाउनलोड गर्नेहरुले भने थप मानिसहरु सहभागी हुने अप्सन पाउनेछन् । तर ह्वाट्सएपमा कतिजनासम्म सहभागी हुनसक्नेछन भने अझै जानकारीमा छैन् ।
कम्पनीले संभवत चाँडै यसबारेमा घोषणा गर्ने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: ६ बैशाख २०७७, शनिबार