एमडिएमएसको जिम्मा पाएको कम्पनीलाई लकडाउनको ‘चिठ्ठा’, अझै शुरु भएन् तर थपियो समय

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

काठमाडौं ।

अवैध मोबाइलको प्रयोगलाई रोक्ने तथा नेपालमा आयात र प्रयोग हुने मोबाइल मोबाइल फोनहरुको रेकर्ड राख्न ल्याउन लागिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम अझै शुरु हुन सकेको छैन् ।

गएको जनवरी १ तारिखदेखि नै संचालन गरिने भनिएको एमडिएमएसको काममा ढिलासुस्ती हुँदा अप्रिलको मध्यसम्म शुरु हुन नसकेको हो ।

नेपाल दूरसंचार प्राधिकरणले जनवरीमा नै शुरु गर्नेगरि एमडिएमएसको काम न्यूमेरा जेभीलाई जिम्मा दिएकोमा कम्पनीले हालसम्म उपकरणहरु नै ल्याउन नसक्दा तोकिएको अवधिमा काम शुरु हुन नसकेको देखिएको छ ।

सम्झौताअनुसार न्यूमेरा जेभीले सो सिस्टमको लागि सम्पूर्ण आवश्यक पर्ने हार्डवेयर, सफ्टवेयरको डिजाइनदेखि निर्माणको कामसम्म गर्नुपर्ने हुन्छ भने ५ वर्षसम्मको संचालनको जिम्मा समेत लिनुपर्ने हुन्छ । तर कम्पनीले एमडिएमएसको लागि चाहिने उपकरणहरु अझैसम्म ल्याउन नसक्दा एमडिएमएसको नै शुरु हुन नसकेको हो ।

यसअघि कम्पनीलाई सेवा अगाडि बढाउन सहज बनाउने गरि प्राधिकरणले एमडिएमएसको लागि एलसी खोल्न फागुन १९ मा नै बैंक ग्यारेन्टीको पत्र पठाएको थियो । सो बेलामा नै कम्पनीका लागि प्राधिकरणले १.१९ मिलियन डलरको बैंक ग्यारेन्टी नबिल बैंकमार्फत गरिदिएको थियो ।

तर त्यसपछि पनि करिब २ महिना हुनलाग्दा समेत कम्पनीले एमडिएमएसको काम शुरु गर्न सकेको छैन् ।

यसअघि कम्पनीले पठाएको सिस्टम डिजाइनहरु प्राधिकरणले केहि संसोधनसहित कम्पनीलाई पठाएको थियो भने सोहि आधारमा कम्पनीले सफ्टवेयर तथा हार्डवेयरसहितको सिस्टम तयार पार्नु पर्नेहुन्छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एलसी खोल्ने प्रकृया गरिएको भन्दै मार्च महिनाभित्रै एमडिएमएसको काम शुरु हुने तत्कालिन समयमा बताएका थिए ।

मोबाइल डिभाइस म्यानेजमेन्टको उपकरण आयात गर्न ‘एलसी’ खोलियो, मार्चभित्रै सिस्टम राख्ने तयारी

तर जनवरीमै शुरु हुने भनिएको तथा त्यसपछि पनि अध्यक्षले भनेको समय अवधि भित्रै पनि एमडिएमएसको काम कम्पनीले शुरु गर्न सकेको छैन् ।

न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरले ७० लाख ६६ हजार ८८८ अमेरिकी डलरमा एमडीएमएसको ठेक्का प्रतिस्पर्धामा पाएको थियो ।

प्राधिकरण स्रोतले भने एमडिएमएसको सबै उपकरणहरु भन्सारमा आईसकेको जानकारी पाएको दाबी गरेको छ।

‘कम्पनीले हामीलाई भन्सारमा सामान आएको जानकारी दिएको छ तर लकडाउनले गर्दा काम रोकियो,’ प्राधिकरण स्रोतले भन्यो ।

यसअघि एलसी खोल्न ढिलाई भएको र खुमलटारमा सरकारले दिने भनेको जग्गा नपाएको भन्दै ढिलाई भएको बताईएको थियो । तर अहिले एलसी खोलेको १ महिना भन्दा बढि समय हुनु र प्राधिकरणले चाबहिलमा रहेको आफ्नो जग्गामा एमडिएमएस सिस्टम राख्ने तयारी गर्दा पनि कम्पनीले सो काम अगाढि बढाउन नसकेको देखिएको छ ।

प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले कम्पनीले पहिलो चरणको काम बारे रिपोर्ट बुझाईसकेको र अन्य काम गरिरहेको जानकारी दिए ।

‘एमडिएमएसको लागि पहिलो चरणको काम कम्पनीले बुझाएको छ र अन्य काम गर्दैछ, लकडाउनका कारण सिस्टम स्थापना गर्ने समय करिब ३ महिना थपिएको छ,’ प्रवक्ता अर्यालले भने ।

कम्पनीलाई एमडिएमएस सिस्टम राख्नको लागि चावहिलको जग्गा उपलब्ध गराउने पत्रसमेत पठाईसकिएको उनले जानकारी दिए ।

 

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया