Technology Khabar ३ बैशाख २०७७, बुधबार
काठमाडौं ।
मर्कन्टाइल कम्युनिकेसन प्रालिले अनिश्चित कालसम्मको लागि नयाँ एनपी डोमेन दर्ता रोकेको छ । मर्कन्टाइल कम्युनिकेसनको सर्भरमा नै ह्याकर पहुँच पाएपछि कम्पनीले सेक्यूरिटी ब्रीच भएको र त्यसलाई समाधान गर्नुपर्ने भन्दै नयाँ डोमेन दर्तामा अस्थाई रोक लगाएको हो ।
नेपालमा डट एनपी डोमेनको व्यवस्थापन गर्दै आएको मर्कन्टाइल कम्युनिकेसन प्रालिको सर्भरबाट ह्याकरले विभिन्न जानकारीहरु लीक गरेको थियो ।
ट्विटरमा सातान नामक ह्याकर कम्पनीको सर्भरमा नै पहुँच पाएको र त्यसको आन्तरिक जानकारी लीक गरिदिएको थियो । सोहि घट्नालाई मध्यनजर गरेर कम्पनीले सुरक्षामा सुधार गर्नुपर्ने भन्दै डोमेन दर्ताको काम रोकेको हो ।
केहि दिनअघि मात्र ह्याकरले कम्पनी र एनपी डोमेनको सर्भरभित्र पहुँच पाएको दाबी गर्दै त्यसको स्क्रीनसट सार्वजनिक गरेको थियो ।

यसअघि सोहि ह्याकरले भायनेट, प्रभु रेमिटलगायत कम्पनीहरु तथा सरकारी कार्यालयहरुको वेबसाइटको डाटा लीक गरिदिएको थियो ।
कम्पनीकाअनुसार ह्याकरले अप्रिल १३ तारिख सोमबार राती साढे दश बजे डटएनपी डोमेन दर्ता सर्भरमा पहुँच पाएको उल्लेख गरेको छ । मर्कन्टाइल कम्युनिकेसनले लीक भएका डाटाहरु सार्वजनिक नगर्न वा त्यसलाई नबिगार्न समेत अनुरोध गरेको छ ।
डटएनपी डोमेन नेपालमा मर्कन्टाइल कम्युनिकेसनले बिगत २५ वर्षदेखि व्यवस्थापन गर्दै आएको छ । हालसम्म कम्पनीले ८३ हजार भन्दा बढि व्यक्तिगत र व्यवसायीक संस्थाहरुलाई निशुल्क उपलब्ध गराउँदै आएको छ ।
यो पनि हेर्नुस्-
सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै
प्रकाशित: ३ बैशाख २०७७, बुधबार