Technology Khabar २ बैशाख २०७७, मंगलवार
काठमाडौं ।
स्मार्ट टेलिकमले सरकारलाई आफूले पाएको मोबाइल सेवाको अनुमतिपत्रको किस्ता रकम तिर्ने म्याद थप गर्न निवेदन दिएको छ । स्मार्ट टेलिकमले लाइसेन्सको रकम तिर्ने समय थप गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा चैतमा नै निवेदन पेश गरेको हो ।
किस्ताबन्दीमा लाइसेन्सको रकम तिर्ने सुबिधा पाएको स्मार्टले अहिले बैशाखमा तिर्नुपर्ने किस्ता रकम १ अर्ब २५ करोड तत्काल तिर्न नसक्ने भन्दै थप अवधि माग गर्दै निवेदन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सो विषयमा मन्त्रालयले भने दूरसंचार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणसँग सुझाब माग गरेको छ । ‘यस बारेमा मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएर राय सुझाव माग गरेको हो,’ मन्त्रालय स्रोतले भन्यो ।
उता दूरसंचार प्राधिकरणले समेत मन्त्रालयबाट पत्र आएको जानकारी दिँदै सो बारेमा आफ्नो भनाई पठाईएको जानकारी दिएको छ । संचार मन्त्रालयले पठाएको पत्रमा दूरसंचार प्राधिकरणले राय पठाईसकेको प्राधिकरण स्रोतले जानकारी दियो ।
‘मन्त्रालयको पत्रको जवाफ दिँदै आगामी असार मसान्त वा लकडाउन खुलेको ३० दिनभित्र तिर्ने सुबिधा दिने राय पठाएको छ,’ प्राधिकरण स्रोतले भन्यो ।
यसअघि स्मार्ट टेलिकमले मन्त्रालयमा निवेदन दिँदै आफूले तिर्नुपर्ने लाइसेन्सको आठौं किस्ताको रकम तिर्न थप समय दिन माग गरेको हो ।
स्मार्ट टेलिकमले यूनिफाईड लाइसेन्स भनिने आधारभूत टेलिफोन सेवाको लाइसेन्स २०७० बैशाख २ गते लिएको हो । कम्पनीले प्रत्येक वर्षको बैशाख १ गतेभित्र लाइसेन्सको रिन्यू रकम तिर्नुपर्ने हुन्छ ।
लाइसेन्सको रकम बापत कम्पनीले आठौं किस्तामा १ अर्ब २५ करोड रुपैयाँ तिर्नुपर्ने छ।
प्रकाशित: २ बैशाख २०७७, मंगलवार