सुरक्षा कमजोरी हेर्न जूमद्धारा फेसबुकका पूर्व सेक्यूरिटी चीफलाई नियुक्त, नयाँ अपडेट समेत जारी

Technology Khabar २७ चैत्र २०७६, बिहीबार

काठमाडौं ।

जूम भिडियो कम्यूनिकेसन्स इंकले फेसबुकका पूर्व सेक्यूरिटी चिफ एलेक्स स्टामोसलाई सेफ्टी एण्ड प्राइभेसीको लागि सल्लाहकार नियुक्त गरेको छ ।

कम्पनीले तिब्रगतिमा भिडियो कन्फरेन्सिङ्ग एपको माग बढिरहेको बेलामा प्राइभेसीको बारेमा निकै विवाद र कमजोरी भेटिएको हुँदा आलोचना खेपिरहेको छ ।

जसले गर्दा पछिल्लो चरणमा विभिन्न कम्पनीहरुले जूम एप प्रयोग नगर्न उर्दि नै जारी गरेका छन् । यसैबिच अल्फाबेट इंकको गूगलले कर्पोरेट ल्यापटपहरुमा बुधबारदेखि जूमको डेस्कटप भर्सनलाई प्रतिबन्ध लगाएको छ ।

जूमको कमजोर सेक्यूरिटीका कारण विभिन्न विद्यालयहरुले समेत आफ्नो आधिकारीक कार्यहरुमा जूम एपको प्रयोगलाई रोक लगाएका छन् ।

यहि समयमा कम्पनीले सेक्यूरिटी सम्बन्धि विषयहरुलाई समाधान गर्न फेसबुकका पूर्व सेक्यूरिटी चिफ एलेक्स स्टामोसलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो । उनले यसअघि गएको मार्चको अन्त्यमा निरन्तर ट्विटमार्फत जूमले थप पारदर्शिता देखाउनुपर्ने र सेक्यूरिटी प्लान ल्याउनुपर्ने बताएका थिए ।

सेक्यूरिटीलाई ध्यानमा राख्दै जूमले ९० दिने योजना सार्वजनिक गरेको छ भने कम्पनीले चिफ इन्फर्मेशन सेक्यूरिटी अफिसर्स काउन्सिल समेत गठन गरेको छ ।

यसैबिच जूमले डेस्कटपको लागि नयाँ अपडेट भर्सन ४.६.१० जारी गरेको छ । जसमा कम्पनीले यसअघिका केहि फिचरहरुमा परिवर्तन गरेको छ ।

नयाँ परिवर्तनमा टाइटर बारबाट मिटिङ्ग आईडी हटाएको छ । यसअघि टाइटलमा नै प्रत्येक मिटिङ्गको आईडी देखिने गर्दथ्यो । त्यस्तै इन्भाइट बटनलाई पार्टिसिप्यान्टस प्यानलमा सारेको छ ।

कम्पनीले केहि नयाँ फीचरहरु समेत नयाँ भर्सनमा थप गरेको छ । जसअनुसार होस्टको मिटिङ्ग टूरबारमा सेक्यूरिटी बटन थप गरेको छ भने केहि बगहरु समेत समाधान गरेको छ ।

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया