Technology Khabar २४ चैत्र २०७६, सोमबार
काठमाडौं ।
कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सूचना प्रणाली गृह मन्त्रालयले आजदेखि शुरु गरेको छ।
‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिईएको सो प्रणालीबाट सूचना प्राप्त गर्न वेबसाइट हेर्नुपर्नेछ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सो वेबसाइट covid19.ndrrma.gov.np सञ्चालनमा ल्याएको हो ।
आज एक कार्यक्रमका बिच गृहमन्त्री रामबहादुर थापाले सो वेबसाइट लगइन गरेर सञ्चालनमा आएको घोषणा गरे। मन्त्री थापाले सो सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वेबसाइटमा मुलुकका ७७ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्यांक प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् ? कति जनाको स्वाब नमूना लिइएको छ । संक्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् ? भन्ने कुरा जानकारी लिन सकिनेछ ।
यसअघि मानवीयरुपमा बिबरण सङ्कलन गर्ने गरिएकामा अब भने सिधै प्रविधिको प्रयोग गरी एकै पटक उक्त वेबसाइटबाट बिबरणहरु हेर्न सकिनेछ । प्रदेश र जिल्ला तहको अवस्था बारेमा पनि त्यहीँबाट जानकारी लिन सकिनेछ । 
वेबसाइट पूर्ण सञ्चालनमा आउँदासम्म वडा तहदेखिकै विवरण राखिने बताईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको गृह मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइन अनुगमनका लागि ‘कोबड्डी’ एप
मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (Cobuddy)एप पनि आजदेखि प्रयोगमा ल्याएको छ । क्वारेन्टाइनमा रहेको मानिसहरुलाई उक्त एप्सले त्यसको निगरानी गर्नेछ ।
निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । आजैदेखि काठमाडौँ, भक्तपुर, बाग्लुङ, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिने जानकारी दिईयो ।
एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ । एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि मात्रै प्रवेशको अनुमति मिल्नेछ ।
आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो, कुनै लक्षण देखियो वा केहि समस्या भयो भने एप्सबाटै जानकारी पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २४ चैत्र २०७६, सोमबार