
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आफ्नो रेडमी नोट ७ मा पहिलो पटक ४८ मेगापिक्सेल क्यामरा लन्च गरेर पहिलो कम्पनी बनेको थियो । कम्पनीले त्यसपछि ६४ मेगापिक्सेल सहितको रेडमी नोट ८ प्रो लन्च गर्यो भने आफ्नो एमआई नोट १० का साथमा १०४ मेगापिक्सेल क्यामरा ल्यायो ।
अब भने कम्पनीले आफ्नो क्यामरा सेगेमेन्टमा नयाँ नेतृत्वगर्ने योजना लिएको छ । कम्पनीले अब आफ्नो स्मार्टफोनमा १४४ मेगापिक्सेलको क्यामरा सेन्सर राख्ने भएको छ । यस्तो गर्ने शाओमी पहिलो कम्पनी हुनेछ ।
शाओमीले निरन्तर अधिक मेगापिक्सेल भएका क्यामरा सेन्सर स्मार्टफोनमा ल्याउनको लागि सामसङ्गसँग सहकार्य गरिरहेको छ । कोरियाली टेक कम्पनी सामसम्गले क्यामरा सेन्सर उत्पादन गर्दछ र मोबाइल फोन कम्पनीहरुलाई बिक्री गर्दछ ।
संभवत १४४ मेगापिक्सेलमा काम गरिरहेको शाओमी एक मात्र कम्पनी हो जसले आफ्नो नयाँ एमआई फोनमा सो सेन्सर राख्नेछ ।
कम्पनीले सो १४४ मेगापिक्सेल क्यामरा सेन्सर आफ्नो आगामी फोन एमआई सीसी १० प्रो वा एमआई १०एस प्रोमा राख्ने बताईएकोछ । एजेन्सी
प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार