
काठमाडौं ।
कोरोनाभाइरस प्रकोप विरुद्ध सतर्कता अपनाउँदै सरकारलाई सहयोग गर्ने उद्धेश्यले ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुले औपचारिकरुपमा नै कम्प्लेक्स बन्द गरेका छन् ।
मोबाइल व्यवसायको मुख्य कारोबार हुने स्थल ताम्राकार कम्प्लेक्स आइतवारदेखि नै बन्द गरिएको हो ।
ताम्राकार कम्प्लेक्सका मोबाइल व्यापारीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सले आगामी २१ गतेसम्म भिडभाड कम गर्ने र सबैलाई सुरक्षित बनाउने उद्धेश्यले व्यवसायिक गतिबिधिलाई रोक्दै ताम्राकार कम्प्लेक्स बन्द गरिएको जानकारी दिएको छ ।
संघका अध्यक्ष जगद साउदले कोरोनाभाइरसको त्रासका बिच व्यवसायिक कारोबार पनि घटिरहेको बेलामा सर्तकता अपनाउन बन्द गरिएको बताए ।
‘कम्प्लेक्समा भिडभाड हुनसक्ने जोखिम रहेको तर सरकारले धेरै भिडभाड नगर्न भनेको अवस्थामा सर्तकता अपनाउनका लागि सबै व्यवसाय र ताम्राकार कम्प्लेक्स बन्द गरेको हो,’ अध्यक्ष साउदले भने ।
उनले २१ गतेपछि पनि अवस्था र सरकारको सूचना हेरेर मात्र कम्प्लेक्स खोलिने जानकारी दिए ।
यसैगरि मोबाइल बिक्रीमा सहभागी हुने डिलरहरुको संस्था नेपाल मोबाईल बितरक संघले पनि कोरोनाभाइरसको कारण जोखिम हुनसक्ने भन्द मोबाइल बितरण कार्य बन्द गरेका छन् ।
उनीहरुले सोमबारदेखि आगामी चैत २१ गतेसम्म सरकारको सूचनाअनुसार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्देशन बमोजिम मोबाइल बितरण कार्य बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।
‘नेपाल सरकारको निर्णय तथा निर्देशन बमोजिम अति आवश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय बमोजिम धेरै मोबाइल इम्पोर्टरहरुले समेत आफ्ना सेवाहरु बन्द गरेको र मोबाइल व्यवसायी संघले समेत क्रमिकरुपमा व्यवसाय बन्द गर्ने जानकारी प्राप्त भएकोले नेपाल मोबाइल बितरक संघ मातहतका सम्पूर्ण कार्य बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौं,’ अध्यक्ष दिनेश चुल्याद्योद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि नै मोबाइल व्यवसाय कोरोनाभाइरस प्रकोपबाट प्रभावित हुँदै आएको थियो । मोबाइल उत्पादन स्थल चीनको बुहान नै कोरोनाभाइरसको महामारी स्थल भएसँगै यसअघि देखि नै मोबाइल आयात तथा बितरण कार्य प्रभावित हुँदै आएको छ ।
कोरोनाभाइरसकाे जोखिमबाट आफ्ना ग्राहकहरुलाई बचाउन र सुरक्षित पार्नका लागि यसअघिदेखि नै न्यूरोडका मोबाइल व्यवसायी विवेक शर्माको पहलमा हात धुने सुविधासहित कोरोनाभाइरसबाट बच्ने उपायहरुकाे बारेमा सचेतना गतिबिधि हुँदै आएको छ ।
प्रकाशित: १० चैत्र २०७६, सोमबार