Technology Khabar ४ चैत्र २०७६, मंगलवार
काठमाडौं ।
ड्रग तस्कर पाब्लो एस्कोबारको नामबाट उनका भाईले गएको महिना एक पछि अर्को गर्दै दुई फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका थिए । एस्कोबार आईएनसीले जनवरी महिनामा एस्कोबार फोल्ड २ स्मार्टफोन लन्च गरेको थियो ।
कम्पनीले यस स्मार्टफोनलाई ‘सामसङ किलर’ ट्यागलाईनसँगै लन्च गरेको थियो । एस्कोबार फोल्ड २ फोल्डेबल स्मार्टफोन सामसङको ग्यालेक्सी फोल्ड जस्तै देखिने स्मार्टफोन रहको थियो ।
तर हाल एमकेबीएचडि नामले प्रसिद्ध एक टेक यूट्यूबर मार्कस ब्रनली ले एस्कोबार फोल्ड २ स्मार्टफोन सामसङको ग्यालेक्सी फोल्ड नै भएको र यसमाथl एस्कोबारले स्किन मात्रै टाँसेको खुलासा गरेका छन्।
यूट्यूब च्यानल एमकेबिएचडिले आफ्नो च्यानलमा एक भिडियो पोस्ट गरेका छन जसमा एस्कोबार फोल्ड २ फोनमा लागेको स्किन उप्काउँदा यो फोन सामसङको ग्यालेक्सी फोल्ड फोन भएको देखिएको छ ।
एस्कोबारको वेबसाइटमा फोल्डेबल स्मार्टफोन एस्कोबार फोल्ड २ को स्पेसिफिकेशनहरु सामसङको ग्यालेक्सी फोल्डको जस्तो नै रहेको छ । तर दुबै स्मार्टफोनको मुल्यमा भने निकै फरक रहेको छ । एस्कोबारको यस फोल्डेबल स्मार्टफोनको मुल्य मात्रै ३९९ अमेरिकी डलर रहेको छ भने सामसङको ग्यालेक्सी फोल्डको मुल्य १,९८० अमेरिकी डलर रहेको छ ।
यस भिडियोमा एमकेबिएचडिले एस्कोबार को यस फोल्डेबल फोनलाई अनबक्सिङ्ग गर्दै फोनमा चार्जिंग केबल मात्रै राखिएको देखाईएको छ । फोनको बक्समा कुनैपनि प्रकारको म्यानुअल, हेडफोन, चार्जर केहि पनि दिईएको छैन ।
यसको साथै एमकेबिएचडिले यस भिडियोमा एस्कोबारले आफ्नो फोनको बारेमा हाईप क्रिएट गर्न टेक जर्नलिस्ट र यूट्यूबरहरुलाई मात्रै फोन डेलिभर गरिरहेको बताइएको छ । अर्थात कम्पनीले यस फोल्डेबल फोनलाई सामान्य ग्राहकहरुको लागी हालसम्म डेलीभर गरेको छैन् ।
प्रकाशित: ४ चैत्र २०७६, मंगलवार