Technology Khabar २५ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को वेबसाइटमा साइबर आक्रमण भएको छ ।साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको कम्पनीले बताएको छ ।
यहि शनिबार राती मार्च ७ मा भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने बताईएको छ ।
सो बारेमा कम्पनीले हालै ट्विट गरेर जानकारी दिएको छ । कम्पनीकाअनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर मात्र लान पाएको बताएको छ । कम्पनीका फाउण्डर तथा प्रमुख टेक्निकल अधिकृत मनोहर अधिकारीले यसलाई सबै सिस्टम ह्याक नभई केहि डाटा चोरिएको बताए ।
‘सजिलो भाषामा ह्याक भएको भनिएपनि यो ह्याक गर्ने प्रयासमात्र हो जसमा बाहिरी रुपमा ग्राहकहरुको नाम, ठेगाना, र फोन नम्बर ह्याकरले लगेको छ, त्यसलाई अहिले हामीले ठिक गरिसकेका छौं,’ उनले भने।
कम्पनीकाअनुसार फुडमाण्डुको वेबसाइटमा मात्र यस्तो डाटा लगिएको तर अन्य मोबाइल एपहरु भने सुरक्षित रहेको छ ।
‘हाम्रा डाटाबेस, सर्भरहरु पुरै सुरक्षित छन र यसमा कुनै ह्याकरको पहुँच छैन् । ह्याकरले बेब यूआरएलमा ट्रयाक गरेर बाहिरी डाटा मात्र लगेको हो,’ उनले भने ।
उनले कमजोरीलाई ठिक पारिएको र अहिले पनि फुडमाण्डुको साइट चलिरहेको जानकारी दिए ।
सो बारेमा फुडमाण्डु भर्खर मात्रै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिएको छ र प्रहरीले समेत छानबिन गर्ने छ । त्यसैगरी कम्पनीले बेवसाइटमा देखिएको कमजाेरी समेत ठिक पारिएको जानकारी दिएको छ ।
हालसम्म कसले र कहाँबाट त्यस्तो डाटा लग्यो भन्ने पत्ता लागेको छैन् । त्यसबारेमा कम्पनीका प्राविधिकहरुले अनुसन्धान गरिरहेको फुडमाण्डुले जनाएकाे छ ।
*समाचार तथा हेडलाइन सम्पादित
NOTICE!!! pic.twitter.com/nDAWcm01kc
— Foodmandu (@foodmandu) March 8, 2020
प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार