Technology Khabar २६ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
दूरसंचार प्राधिकरणको माघ १७ गते बसेको बोर्ड बैठकले वर्ल्डलिंक कम्यूनिकेशन प्रालि (हाल लिमिटेड)लाई निर्देशन विपरित चिठ्ठा उपहार कार्यक्रम संचालन गरेको भन्दै ५० हजार जरिवाना गरेर कारबाही गरेको हो ।
प्राधिकरणले यसअघि २०७० साल भदौ ३० गते दूरसंचार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई चिठ्डामा आधारित उपहार कार्यक्रम बन्द गर्न निर्देशन जारी गरेकोमा सो निर्देशन विपरित कार्य गरेको भन्दै वर्ल्डलिंक कम्यूनिकेसनलाई कारबाही गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
यसअघि प्राधिकरणले वर्ल्डलिंकलाई चिठ्ठामा आधारित उपहार कार्यक्रम किन संचालन गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । कम्पनीलाई गत वर्ष २०७५ कात्तिकमा सो स्पष्टिकरण सोधेको थियो भने कम्पनीले त्यसको उत्तरमा ग्राहकहरुलाई विदेश सयरको अनुभव गराउन सो कार्यक्रम संचालन गरेको जानकारी दिएको थियो ।
वर्ल्डलिंक कम्यूनिकेसन्सले निर्देशन विपरित काम गरेकोमा दूरसंचार प्राधिकरणले सोध्यो स्पष्टिकरण
सो स्पष्टिकरणमा चित्त नबुझाएको दूरसंचार प्राधिकरणले १ वर्षपछि वर्ल्डलिंकलाई जरिवाना तोकेर कारबाही गरेको हो । प्राधिकरणले दूरसंचार ऐन २०५३ को दफा ४७(१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
कम्पनीले अब सो जरिवाना रकम दूरसंचार प्राधिकरणलाई तिर्नुपर्नेछ ।
कानूनअनुसार प्राधिकरणको निर्देशन विपरित कार्य गर्ने दूरसंचार सेवा प्रदायकहरुलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।
वर्ल्डलिंकले सो समयमा इन्टरनेट सरर विदेश फरर नामक चिठ्ठामा आधारित ग्राहक योजना संचालन गरेको थियो ।

प्रकाशित: २६ माघ २०७६, आईतवार