काठमाडौं ।
काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो ।
ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यबान कम्पनीको सूचीको रिपोर्टअनुसार कम्पनीले सन् २०२० मा आफ्नो मूल्यलाई १८ प्रतिशतले अघिल्लो वर्षको तुलनामा वृद्धि गरेको छ र यो वर्ष अमेजनको मूल्य २२०.८ अर्ब डलर तोकिएको छ । गत वर्ष विश्वको मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थानमा नै रहेको अमेजनको ब्राण्ड भ्यालू १८७.९ अर्ब डलर थियो ।
विश्वको मूल्यबान ब्राण्डको दोस्रो स्थानमा टेक कम्पनी गूगल रहेको छ जसको ब्राण्ड भ्यालू २०२० मा १५९.७२ अर्ब डलर रहेकोछ । गूगलको ब्राण्ड भ्यालूमा यो वर्ष ११ प्रतिशतको वृद्धि देखिएको छ भने योवर्ष गूगलले एप्पललाई उछिनेर दोस्रो स्थानमा आएको हो ।
मूल्यबान ब्राण्डमा आइफोन निर्माता कम्पनी एप्पल तेस्रो स्थानमा रहेको छ जसको ब्राण्ड भ्यालू यो वर्ष ८.५ प्रतिशतले घटेर १४०.५२ अर्ब डलर रहेको छ । अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको एप्पल यो वर्ष भने तेस्रो स्थानमा खुम्चिएको छ ।
चौथो स्थानमा रहेको माइक्रोसफ्टको पनि ब्राण्ड भ्यालूमा २.१ प्रतिशतले कमी आउँदै ११७.०७ अर्ब डलर कायम रहेको छ ।
मूल्यबान ब्राण्डको सूचीमा प्रमुख ४ स्थान अमेरिकी कम्पनीले ओटेको बेला पाँचौं स्थानमा भने दक्षिण कोरियाली टेक कम्पनी सामसंग रहेको छ । सामसंगको ब्राण्ड भ्यालू यो वर्ष ३.५ प्रतिशतले बढेको छ भने कम्पनीको मूल्य ९४.४९ अर्ब डलर रहेको छ ।
विश्वमै चर्चामा रहने सामाजिक संजाल फेसबुक भने सूचीको सातौं स्थानमा रहेको छ जसको मूल्यमा ४.१ प्रतिशतले कमी आउँदै ७९.८ अर्ब डलर रहेको छ ।
सूचीको छैटौं स्थानमा चिनियाँ कम्पनी आईसीबिसी रहेको छ भने आठौं स्थानमा वालमार्ट तथा नवौं स्थानमा चिनियाँ कम्पनी पिंगएएन रहेको छ ।
विश्वको मूल्यबान ब्राण्डको टप टेन सूचीमा पहिलो पटक चिनियाँ टेलिकम उपकरण जायन्ट कम्पनी ह्वावे अटाएको छ । यसअघि गत वर्ष १२ औं स्थानमा रहेको ह्वावे यो वर्ष भने ४.५ प्रतिशतको ब्राण्ड भ्यालू बढाउँदै टप टेनमा आएको हो ।
ह्वावे दशौं स्थानमा रहँदा कम्पनीको मूल्य ६५.१ अर्ब डलर रहेको छ । ह्वावेलाई ५जीमा रहेको प्रतिस्पर्धाले आगामी दिनमा अझ बढि फाईदा दिने बताईएको छ ।
रिपोर्टअनुसार मूल्यबान ब्राण्ड भ्यालू कायम हुने कम्पनीहरुमा सेक्टरको आधारमा हेर्दा प्रविधिमा आधारित कम्पनीहरुको हिस्सा सबैभन्दा धेरै १४ प्रतिशत छ भने बैंकिंग क्षेत्रको हिस्सा १३.१ प्रतिशत, रिटेलको ११.३ प्रतिशत, टेलिकम कम्पनीहरुको ७.९ प्रतिशत अटो क्षेत्रको ७ प्रतिशत हिस्सा रहेकोछ ।
प्रकाशित: १० माघ २०७६, शुक्रबार