Technology Khabar २७ पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । विश्वभर सन् २०१९ मा विभिन्न समयमा १८ हजार घण्टा अवधिसम्म इन्टरनेट सेवा बन्द भएको छ । सन् २०१९ मा इन्टरनेट बन्द हुँदा विभिन्न सरकारी कार्यहरुमा अवरोध आउँदा ८ अर्ब डलर भन्दा बढिको नोक्सानी भएको छ।
हालै सार्वजनिक एक रिपोर्टअनुसार छिमेकी मुलुक भारतसहित अफ्रिकी देश चाड र पूर्वी एशियाली देश म्यानमार सबैभन्दा धेरै इन्टरनेट बन्द हुने मुलुकहरुमा परेका छन् । तर ईराक भने आर्थिकरुपमा सबैभन्दा नराम्ररी प्रभावित भएको छ । ईराकले मात्र २६३ घण्टासम्म इन्टरनेट तथा सामाजिक संजाल बन्द हुँदा २.३ अर्ब डलरको घाटा भोगेको छ ।
टप१०भीपीएसनले प्रकाशित गरेको तथा नेटब्लक्स तथा इन्टरनेट सोसाईटिद्धारा गरिएको इन्टरनेट अनुसन्धान रिपोर्टले विश्वभरका १२२ देशहरुका पूर्ण सटडाउन र र्आिशक बन्द गरिएका इन्टरनेट सेवाहरुको परीक्षण गरेको थियो ।
आर्थिकरुपमा हेर्दा इन्टरनेटमा आएको अवरोधले औपचारिक अर्थतन्त्रमात्र नभएर अनौपचारिक अर्थतन्त्रका साथै अति कम विकसित राष्ट्रहरु प्रभावित भएको बताईएको छ ।
यसबाहेक मानवअधिकारको पक्षबाट हेर्दा यी बन्द वा रोकले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमा स्पष्टरुपमा असर पारेको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो ५ वर्षहरुमा इन्टरनेट बन्द गर्ने कार्य विश्वभर वृद्धि भईरहेको छ । सरकारहरुले विरोध र अशान्तिलाई नियन्त्रण गर्ने बहानामा त्यसलाई प्रयोग गर्दै आएका छन् ।
छिमेकी मुलुक भारतमा मात्रै सन् २०१९ मा १०० पटक भन्दा बढि इन्टरनेट पूर्ण वा आंशिकरुपमा बन्द गरिएका थिए । जसले गर्दा भारतीय अर्थतन्त्रलाई गत वर्ष १.३ अर्ब डलरभन्दा बढिको क्षति पुगेको टप१०भीपीएनले अनुमान गरेको छ । एजेन्सी
प्रकाशित: २७ पुष २०७६, आईतवार