Technology Khabar ८ मंसिर २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । रसियाले आफ्नो देशभित्र बिक्री हुने निश्चित डिभाइसहरुमा रसियन सफ्टवेयर प्री इन्स्टल्ड भएको हुनुपर्ने नियम जारी गरेको छ ।
हालै रसियाले नयाँ कानून पास गर्दै स्मार्टफोनहरु, कम्प्यूटरहरु र स्मार्ट टेलिभिजनहरुमा अनिवार्यरुपमा रसियन सफ्टवेयरहरु शुरुवातमा नै राखिएको हुनुपर्ने बनाएको हो । यो नयाँ कानून सन् २०२० को जुलाईदेखि कार्यान्वयनमा आउने छ ।
नयाँ कानून ल्याउनुको कारणमा रसियन टेक्नोलोजीलाई प्रबद्र्धन गर्न र देशभित्रका मानिसहरुले खरिद गर्ने कुनैपनि ग्याजेट्स प्रयोगलाई सहज बनाउने उद्धेश्य लिएको नियमनकारी निकायले जानकारी दिएको छ ।
तर सो नयाँ कानूनले अन्य मुलुकबाट ल्याएका डिभाइसहरु सामान्य सफ्टवेयर राखेर बेच्न नपाईने भने भनेको छैन् । तर रसियन सफ्टवेयरहरुलाई वैकल्पिक रुपमा लिँदै ति पनि इन्स्टल गरिएको हुनुपर्ने छ ।
रसियाको तल्लो सदनले यहि बिहिबार सो नयाँ कानून पास गरेको छ भने यसले सम्पूर्ण डिभाइसहरुलाई प्रभावित गर्नेछ । डिभाइसहरुमा कुन सफ्टवेयरहरु प्रि इन्स्टल गर्ने भन्ने सरकारले निर्धारण गर्नेछ ।
अर्कोतर्फ सरकारले पास गरेको नयाँ कानूनको बारेमा आलोचना समेत भएको छ । रसियाको एसोसिएसन अफ ट्रेडिंग कम्पनिज एण्ड म्यानुफ्याक्चरर्स अफ इलेक्ट्रिकल हाउसहोल्ड एण्ड कम्प्यूटर इक्विपमेन्ट(आरटेक)ले यो संभव नभएको र अन्तराष्ट्रिय कम्पनीहरुले बनाउने डिभाइसहरुमा यस्ता रसियन सफ्टवेयर राख्न समस्या हुने बताएको छ । यहि कानूनले गर्दा आगामी दिनमा ग्याजेट्स कम्पनीहरु रसियन बजारबाट फर्किनसक्ने बताएको छ ।
अन्य मानिसहरुले भने रसियामा निर्मित सफ्टवेयरमार्फत जासूसी हुनसक्ने आशंका व्यक्त गरेका छन् । बीबीसी
प्रकाशित: ८ मंसिर २०७६, आईतवार