
काठमाडौं ।
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको चुनावी सरगर्मी बढेसँगै यतिबेला प्रचार प्रसारको क्रमले पनि तिब्रता पाएको छ । मंसिर १ गते उम्मेदवारी दर्ता भएपछि प्रचार प्रसारसँगै उम्मेदवारहरुको विरुद्धमा उजुरी समेत परेको छ । अध्यक्षका प्रत्यासी उम्मेदवार नवराज कुँवरको विरुद्धमा नै उजुरी परेको हो ।
अध्यक्षका प्रत्यासी कुँवरको प्यानलका केही उम्मेदवार तथा अध्यक्षका अर्का प्रत्यासी सुनैना घिमिरे पाण्डे समुहका केहि उम्मेदवारका विरुद्धमा उजुरी परेको हो ।
क्यान संबद्ध स्रोतकाअनुसार अध्यक्ष पदका प्रत्यासी उम्मेदवार कुँवरका बिरुद्ध महासंघको विधान विपरीत बदनियत पूर्णरूपमा आजिवन सदस्यता लिएको भनी उजुरी परेको छ।
उनका साथै अछामबाट प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका खेमराज ढुङ्गानाको पदिय अवधि पूरा नभएकोले अयोग्य हुने भनिएको छ भने महासंघका प्रदेश ३ का अध्यक्षका उम्मेदवारले एकै प्रकृतिको सदस्यता जिल्ला र केन्द्रबाट लिई जिल्ला सदस्यको हैसियतबाट प्रदेश अध्यक्ष भई केन्द्रको व्यक्तिगत सदस्यको हैसियतले प्रस्तावक समर्थक बनेको भनी दुवै सदस्यता खारेज गरी निजले प्रस्ताव समर्थन गरेको उमेदवारकोसमेत उम्मेदवारी रद्द गराई पाउँ भनि उजुरी परेको स्रोतले बतायो ।
यसै गरी प्रदेश ५ बाट उम्मेदवारी दिएका ध्रुव राज शर्मालगायत अछामकै खेमराज ढुंगाना र प्रदेश ३ का अध्यक्ष मनोज कुमार न्यौपाने समेतले सामाजिक सञ्जाल मार्फत निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी भ्रामक समाचार फैलाएको भनी तीनैजनालाई कारबाहीको माग गरिएको छ ।
यता सुनैना पक्षका उम्मेदवार विक्रम सिंह बिरुद्ध गलत नामबाट उम्मेदवारी दर्ता गरेकोले खारेज गरिपाऊँ भनिएको छ ।
उजुरीको सुनुवाई कसको पक्षमा हुनेछ भन्ने विषयमा निर्वाचन समितिले मंगलबार बिहान दस बजेदेखि एघार बजे भित्र निर्णय दिने भनी सूचना टाँस गरेको छ । उता केही सदस्यहरूले भने निर्वाचन समिति नै कुँवर पक्षमा लागेको आरोप लगाएका छन् ।
यस विषयमा क्यान महासंघको मंसिर ७ गते हुन लागेको निर्वाचनका निर्वाचन प्रमुख लिलामणि पौडेलसँग सम्पर्क राख्न खोज्दा उनी निर्वाचनको अख्तियारी अरूलाई नै सुम्पिएर चीन भ्रमणमा गएको बताईयो । उनले क्यानलाई औपचारिकरुपमा जानकारी नै नदिई अन्य दुई निर्वाचन अधिकृतहरुलाई निर्वाचनको जिम्मा दिएको क्यान स्रोतले जानकारी दियो।
क्यान महासंघको चुनावका लागि सुनैना घिमिरे पाण्डेले आफूलाई राजनीतिक पार्टीको उच्च तहबाट निर्वाचनमा सरिक नहुन दवाव आएको भनी यस अघि नै सार्वजनिक गरिसकेकी छिन् भने विगत पच्चीस वर्षदेखि क्यानको राजनीतिमा सक्रिय र वर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष रहेका कुँवरको सदस्यता नै अवैध ठहरिएमा क्यान निर्वाचनमा ‘ट्विस्ट’ आउने देखिन्छ ।
यसैबिच क्यानको निर्वाचनमा केहि उम्मेदवारहरु निर्विरोध भएका छन्। कुँवर समूहका वस्तुगत सदस्य समूहका नारायण बहादुर थापा, भोजराज भट्ट, चिरन्जिबी अधिकारी, प्रताप सापकोटालगायत १३ जना निर्विरोध उम्मेद्वार भएका छन भने सुनैना समूहबाट २ जना निर्विरोध भएका छन् ।
अन्तिम नामावली प्रकाशन भएपछि मात्र निर्विरोध उम्मेदवारी परेको आधिकारिक जानकारी आउने क्यान सचिवालयले जानकारी दियो ।
प्रकाशित: ३ मंसिर २०७६, मंगलवार