काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोले हालै केहि दिनअघि मात्रै नेपाली बजारमा भीभो भी १७प्रो स्मार्टफोन लन्च गरेको छ । यसको विशेषता भनेको यो फोनमा विश्वको पहिलो ड्यूल पपअप सेल्फी क्यामरा राखिएको छ।
फोटोग्राफीको आधारमा राम्रो स्मार्टफोनमा पर्ने भीभोको बजार मूल्य भने निकै महंगो रहेको छ ।
नेपालमा भर्खर मात्र लन्च भएको भीभो भी १७प्रो मोबाइल छिमेकी मुलुक भारतमा भने लन्च भएको एक महिनाभित्रै मूल्य कटौती भएको छ ।
यसअघि नै भारतमा सस्तो मूल्य रहेको भीभो भी १७प्रोको कम्पनीले फेरी घटाएको हो ।
भारतमा भीभो भी १७प्रो भारु २९,९०० मा लन्च भएको थियो जुन नेपाली रुपैयाँ करिब ४८ हजार रुपैयाँ हुन्छ । तर अब भारतमा कम्पनीले भी १७प्रोको मूल्यमा भारु २,००० ले कटौती गरेर नयाँ मूल्य २७,९०० भारु तोकेको छ । यो मूल्य अनलाइन र अफलाइन रिटेल स्टोरहरु दुबैमा लागू गरिएको छ ।
भीभो भी १७प्रोको नेपाली बजार मूल्य ५२ हजार ४९० रुपैयाँ तोकिएको छ । नेपाल र भारतको बजार मूल्यमा यसअघि नै करिब साढे ४ हजार रुपैयाँको फरक रहेको थियो । अब भारतमा भएको मूल्य कटौतीले गर्दा नेपाली बजार र भारतीय मूल्यमा झनै ठूलो फरक देखिएकोछ ।
भारतमा गरिएको मूल्य कटौतीपछि भारतमा २७,९०० भारु अर्थात करिब ४४ हजार ८ सय रुपैयाँमा भी १७प्रो किन्न सकिन्छ भने नेपाली बजारमा सोहि फोनलाई ५२ हजार ४९० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
यसको सिधा अर्थ नेपाली ग्राहकले सिधै ७ हजार ७ रुपैयाँ महंगो मूल्य तिर्नुपर्ने हुन्छ । यो नेपाली ग्राहकहरुको लागि थप मार पर्ने स्पष्ट देखिन्छ नै यसका साथै खुला बोर्डर भएको हुँदा भारतबाट नेपालमा अवैधरुपमा सो फोन आउने र ग्रे मार्केट बढाउन सक्ने संभावना पनि रहन्छ ।
त्यसैले अब नेपाली बजारमा छिमेकी बजारलाई समान बनाउने गरि नेपाली बजारमा कहिले भीभो भी १७प्रो स्मार्टफोनको मूल्य घट्छ भन्ने बहसको विषय भएको छ ।
भीभो भी १७प्रोमा ६.४४ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ । यसमा क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर छ भने फोनमा ३२ प्लस ५ मेगापिक्सेलको ड्यूल पपअप सेल्फी क्यामरा राखिएको छ । त्यस्तै यसको रियर प्यानलमा ४८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहेको छ । एन्ड्रोयड ९ पाईमा आधारित यो स्मार्टफोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ । यो फोन क्रिस्टल ब्ल्याक र क्रिस्टल ह्वाइट कलर अप्सनमा नेपाली बजारमा आउँछ ।
प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार