अमेरिकी प्रतिबन्धका बाबजुद पनि ह्वावेको अम्दानी २४ दशमलव ४ प्रतिशतले वृद्धि

Technology Khabar २९ आश्विन २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । चीनको टेलिकम कम्पनी ह्वावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको ह्वावेको आम्दानी ९ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८ दशमलव ७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले ह्वावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा ह्वावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान ह्वावेलाई बिक्री नगर्न दबाब दिएको थियो ।

संयुक्त राज्य अमेरिकाले ह्वावेका उपकरणहरुमार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो ।

अमेरिकाले ह्वावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर ह्वावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ ।

कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘ह्वावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को ९ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।’

प्रकाशित: २९ आश्विन २०७६, बुधबार

तपाइको प्रतिक्रिया