
काठमाडौं ।
काठमाडौं । छिमेकी मुलुक भारतमा मोबाइल नम्बरको हालको १० अंकलाई अब ११ अंक कायम गरिने भएको छ । भारतको टेलीकम क्षेत्रको नियामक निकाय टेलिकम रेगुलेटरी अर्थोरिटी अफ इण्डिया(ट्राई)ले हाल यूजर्ससँग ११ अंक गर्ने बारेमा सुझाव संकलन गरिरहेको छ ।
भारतमा बढ्दो जनसंख्याका साथ टेलिकम कनेक्सनको मागसँग जुध्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर सो विकल्प ल्याईएको बताईएको छ । ट्राईले सो बारेमा हाल कन्सल्टेशन पेपर सार्वजनिक गरेको छ जसमा मोबाइल फोन र ल्याण्डलाइन दुबै किसिमका टेलिफोन लाइनहरुको बारेमा योजना बनाएको छ ।
ट्राईकाअनुसार यदि भारतमा सन् २०५० सम्ममा वायरलेस फोनको घनत्व २०० प्रतिशत भएमा अर्थात प्रत्येक व्यक्तिसँग औसतमा २ मोबाइल कनेक्सन भएमा यसले देशमा सक्रिय मोबाइल फोनको संख्या ३.२८ अर्ब सम्म पुग्नेछ । हाल भारतमा १.२ अर्ब फोन कनेक्सन रहेको छ । सन् २०५० सम्ममा कम्तिमा २.६ बिलियन थप नयाँ नम्बरहरु देशको आवश्यकतालाई पुरा गर्न चाहिने अनुमान गरिएको छ ।
त्यसैगरि ट्राईले गरेको अनुमानअनुसार यदि अंकको ७० प्रतिशत उपयोग मात्र भएमा पनि सो समयावधीसम्म भारतमा मोबाइल फोनको लागि ४.६८ अर्ब वटा नम्बर आवश्यक हुनेछ ।
भारतमा मशिनहरुका बिचमा पारस्परिक इन्टरनेट सम्पर्क वा इन्टरनेट अफ दि थिंग्सका लागि १३ अंक भएको नम्बर श्रृंखला पहिले नै शुरु गरिसकेको छ ।
हालको ९, ८ र ७ बाट शुरु हुने १० डिजिट मोबाइल नम्बरले केबल २.१ बिलियन कनेक्सन मात्र दिनसक्नेछ जसको कारण भारतमा ११ डिजिट भएको मोबाइल फोन आवश्यक पर्ने ट्राईको जिकिर छ ।
भारतमा यसअघि पनि सन् १९९३ र २००३ मा नम्बरिंग प्लान्सको समिक्षा गरिसकिएको छ । सन् २००३ बाट नम्बरिंग प्लानले ७५० मिलियन फोन कनेक्सन थप गर्न सफल भएको थियो जसबाट ४५० मिलियन मोबाइल फोन र ३०० मिलियन बेसिक तथा ल्याण्डलाइन फोनहरु थिए ।
भारतमा जनसंख्यामा भईरहेको वृद्धिसँग टेलिफोन नम्बरहरुको माग पनि निकै बढेर गएको छ । अझ पछिल्ला दिनहरुमा सस्तो मोबाइल फोनको सहज उपलब्धता र सेवा शुल्कमा आएको कमीले पनि टेलिफोन र मोबाइल प्रयोग गर्नेको संख्यामा वृद्धि भएको ट्राईको भनाई छ । त्यसैगरि भारतमा फिक्स्ड ल्याण्डलाइन नम्बरको माग पनि निकै बढेको बताईएको छ।
भारतीय नियामक निकाय ट्राईले कहिलेदेखि यो नयाँ योजना लागू गर्छ भन्ने कुनै जानकारी छैन् । एजेन्सी
प्रकाशित: ६ आश्विन २०७६, सोमबार