काठमाडौं ।
रियाद । ड्रोन आक्रमणको कारण साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका अरामको कम्पनीका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो ।
बिहानै लागेको दुवै आगलागी हाल नियन्त्रणमा आइसकेका सरकारी समाचारमाध्यमले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो ।
आगलागीबाट कति क्षति भयो भन्ने तथ्यांक आउन समय लाग्ने स्रोतले जनाएको छ । स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ ।
तेल प्रशोधन कम्पनी अरामकोले शेयर बजारमा कम्पनीको शेयर निस्काशन गर्ने तयारी गरेको छ ।
प्रकाशित: २८ भाद्र २०७६, शनिबार